काठमाडौँ, ३० भदौ । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका विषयमा तत्काल नेपालका तर्फबाट कुनै निर्णय हुन सम्भावना नरहेको स्पष्ट पारेको छ ।
बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् ।
अहिले सरकार पूर्ण रूपमा निर्वाचनको तयारीमा लागेकाले र यस विषयमा राष्ट्रिय सहमतिसमेत आवश्यक पर्ने भएको हुँदा पनि अहिले कुनै निर्णय नहुने उनको भनाइ छ । उनले नेपाल सरकारको निर्णय भनेको नै नवनिर्वाचित सरकारले नै गर्ने भन्ने रहेको जानकारी दिइन् ।
नेपालले यसपटक ‘अग्निपथ’ योजनामा सहभागी नभए अरूलाई नै सो कोटा दिइने भारतीय सेनाका प्रमुख मनोज पाण्डेको अभिव्यक्ति सार्वजनिक भएकै दिन परराष्ट्र मन्त्रालयले यस्तो स्पष्टीकरण दिएको हो ।
भारत सरकारले सेनामा भइरहेको खर्च घटाउन र सेनाको आधुनिकीकरण गर्न भन्दै ल्याएको अग्निपथ योजनामा नेपाल सरकार अहिले सहमत भएको छैन ।
भारतले गोर्खा भर्ती अग्निपथ योजना अन्तर्गत नै हुनुपर्ने बताइसक्दा नेपालले भने आधिकारिक धारणा राखेको छैन ।
अग्निपथ योजना नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौताविपरीत हुने मत उठिरहेको छ । भारतले भने नेपाललाई अग्निपथ योजनामै सहमत गराउने प्रयास गरिरहेको छ ।