सहकारी संस्थाहरूलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

153

काठमाडौँ, १ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी संस्था आफ्ना सदस्यहरूप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएकी छन् ।

बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रूपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३५औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको आर्थिक विकास तथा विस्तार, राष्ट्रिय पुँजी निर्माण, बचत परिचालन र लगानीको लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

मन्त्री श्रेष्ठले पछिल्लो समयमा सहकारीको संलग्नता उत्पादन, उत्पादकत्व र स्वरोजगारीको क्षेत्रमा नभई बचत तथा ऋण कारोबारमा बढी केन्द्रित हुँदै गइरहेको, केही सहकारीमा सहकारीका सिद्धान्त, मूल्य तथा मान्यता अनुशरणको कमजोर अवस्था र वित्तीय सुशासनको कमजोर हुँदा सहकारीप्रति आमनागरिकको विश्वास र भरोसा घट्दै गइरहेको देखिएको पनि बताइन् ।

सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु पर्ने आवश्यकता र जिम्मेवारी आएको समयमा दोष अरूलाई देखाएर आफू पन्छिने प्रवृत्ति सहकारी अभियान्ताहरुमा देखिएको भन्दै मन्त्री श्रेष्ठले सहकारी ऐन नियमावलीमा भएका व्यवस्थाहरको पूर्ण परिपालन, सहकारी मूल्य, मान्यता र सिद्धान्तको सही परिपालनबाट मात्र सहकारी क्षेत्रको समस्या समाधान गर्न सकिने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले अहिलेको सरकार सहजीकरण, नियमन र उत्प्रेरकको भूमिकामा आफूलाई केन्द्रित गर्दै साझेदारी प्रवर्द्धनको दिशातर्फ अघि बढिरहेको भन्दै समग्र राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले नियामक निकाय र सहकारीबीचको उपयुक्त सहकार्यबाट मात्रै सहकारी क्षेत्रको शुद्धीकरण सम्भव छ भन्दै नियामक निकायको रुपमा रहेको सहकारी विभाग तथा प्रदेश एवं स्थानीय सरकारबीच प्रभावकारी साझेदारीको माध्यमबाट अघि बढ्ने गरी प्रयास भइरहेको पनि बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...