मेयर हर्क साम्पाङको लागु औषधमुक्त धरान अभियान

1,029

धरान, ३२ असार । पछिल्लो समय धरानमा विभिन्न अभियानहरु हप्तै पिच्छे सञ्चालन हुँदै आएका छन् । ती अभियानमध्येको लागु औषधमुक्त धरान बनाउने अभियान पनि एउटा अभियान हो ।

यो अभियान धरानमा हरेक साताको शुक्रबार सञ्चालन हुने गर्दछ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले यो अभियान सुरु गरेको तेस्रो साता पुगेको छ । धरान लागु औषधमुक्त बनाउने अभियानका साथ हरेक हप्ता धरानका विभिन्न चोक र स्थानहरुमा पुगेर मेयर साम्पाङ आफैँ सहभागी भएर लागु औषधविरुद्धको पर्चा, पम्प्लेटसहित लागु औषधको विरुद्धमा जनचेतना फैलाउने गर्दछन् ।

मेयर साम्पाङको यो अभियानमा धरानवासीले स्वतःस्फूर्त साथ दिएका छन् । अभियानको पहिलो दिनदेखि नै उपमेयर आइन्द्रविक्रम बेघा सहभागी हुँदै आएका छन् भने अरु जनप्रतिनिधिहरुको सहभागिता भने देखिएको छैन ।

लागु औषधविरुद्धको पहिलो अभियान धरानको मुख्य चोक भानुचोकबाट सुरु भएको थियो । दोस्रो साता धरानको छाताचोकमा अभियान भएको थियो भने तेस्रो साता धरान–१३ को जिरोप्वाइन्टमा भएको हो ।

धरान–१३ का केही संघसंस्था र आमा समूहसँगै १३ नम्बर वडाबासीको सहभागिता रहेको यो अभियानमा मेयर साम्पाङले धरानमा हुने अपराधिक घटनाहरु लागु औषधसँगै जोडिएको हुनाले लागु औषधमुक्त धरान बनाउन यो अभियान थालिएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...