पहिरोले भोटखोला जाने सडक अवरुद्ध

315

खाँदबारी, २७ जेठ । लगातारको वर्षाले सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडक अवरुद्ध भएको छ ।

वर्षासँगै आएको पहिराले मकालु गाउँपालिका–३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनियर दिपेश रजकले जानकारी दिए ।

आज बिहान ७ बजे खाँदबारी–किमाथांका सडकखण्ड मकालु–३ कोसम्माटारमा पहिरो खसेको सडक अबरुद्ध भएको उनले बताए । सो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ ।

सङ्खुवासभामा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकको भनाइ छ । पानी रोकिए पनि पहिरो हटाउन चार–पाँच दिन लाग्न सडक कार्यालयले जनाएको छ ।

सडकखण्ड अबरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ ।

सडक अबरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।

एक महिना बन्द भएको भोटखोला जाने सडक एक साताअघि मात्र खुलाइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...