बिजुली गाडीमा अन्तःशुल्क वृद्धि सिद्धान्तविपरीत : पूर्वअर्थमन्त्री पाण्डे

98

काठमाडौँ, १८ जेठ । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले अहिले देशमा देखिएको संकट व्यवस्थापन गर्नका लागि बजेटमा कुनै स्पेस नदिइएको आरोप लगाएका छन् ।

मूल्यवृद्धि, महँगी र आर्थिक मन्दी चुलिन लागेका बेला सरकारले ल्याएको बजेटमा यस्ता समस्या समाधानका लागि कुनै ठोस योजना नभएको उनको भनाइ छ ।

संघीय संसद्‌मा बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै नेता पाण्डेले विश्वमा बढ्दै गएको आर्थिक संकटलाई हेरेर बजेट ल्याउनुपर्ने भए पनि त्यसतर्फ ध्यान नदिएको बताए ।

पूर्वअर्थमन्त्री पाण्डेले विद्युतीय गाडीमा अन्तःशुल्क बढाउने कुरा सिद्धान्तविपरीत भएको बताए ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷८०को बजेटमा विद्युतीय गाडीको अन्तःशुल्क भारी वृद्धि गरेका छन् ।

पूर्वअर्थमन्त्री पाण्डेले भने प्रदूषण गर्ने कुरामा मात्रै अन्तःशुल्क लगाइने सिद्धान्त रहेको स्मरण गराए ।

‘विद्युत् बढाउने कुरा गरेको सरकारले विद्युतीय गाडीमा कर बढाएको कुरा कतै मेल खाँदैन,’ उनले भने ।

सांसद् पाण्डेले सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरेपनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताए ।

अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले त्यो समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिने उनको तर्क थियो । वर्षे बाली लगाउने समयमा भारतबाट मल कहिले आउँछ टुंगो नभएको अवस्थामा मलमा बजेट आधा छुट्टाएर उत्पादन बढाउन नसकिने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...