किमाथांका–खाँदबारी सडकखण्ड एक महिनापछि पुनःसञ्चालनमा

300

खाँदबारी, १७ जेठ । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक महिनापछि पुनः सञ्चालनमा आएको छ । उत्तर दक्षिण सडक खण्डअन्तर्गतको किमाथांका–खाँदबारी सडक अन्तर्गतको मकालु गाउँपालिका–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि भोटखोला जाने सडक पुनः सञ्चालन भएको हो ।

मकालु–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि आइतबारदेखि सडक सञ्चालन भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । सुक्खा पहिरोले भोटखोला जाने सडक खण्ड एक महिनादेखि अवरुद्ध भएको थियो ।

पहिरोले बन्द भएको सडक भोटखोला गाउँपालिकाको आग्रहमा स्वामी नारायण कन्स्ट्रक्शन निर्माण सेवा प्रालिले हटाएको हो । पहिरो हटाएपछि सोमबारदेखि यातायात सञ्चालन भएको छ ।

मकालु–३ सम्माटार सडक खण्डमा सुक्खा खस्दा भोटखोला जाने र आउने यात्रुले सास्ती पाएका थिए । सुक्खा पहिराका कारण बेलाबेला उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ ।

लामो समयसम्म बाटो अवरुद्ध हुँदा भोटखोलाका स्थानीयलाई आवतजावतमा समस्या परेको थियो । दैनिक उपभोग्य सामग्री भरियाले बोकेर भोटखोला पुर्‍याउनु पर्दा महँगी बढेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...