सप्तरीमा निर्वाचित वडा सदस्यको निधन
सप्तरी, ६ जेठ । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ ।
सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए । उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए । खाना खाएर सुतेका उाको निधन भएको बताइएको छ ।
बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट विजयी भएका थिए ।
उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएका थिए । सदस्यमा उनीसँग एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए ।