सङ्खुवासभामा ६ पालिका प्रमुख कांग्रेस र ४ मा एमाले विजयी

275

खाँदबारी, ४ जेठ । स्थानीय तहको निर्वाचनमा सङ्खुवासभाको १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले छ र नेकपा (एमाले)ले चारओटा पालिका प्रमुख जितेको छ । विसं २०७४ को निर्वाचनमा कांग्रेस र एमाले पाँच/पाँच प्रमुख तथा अध्यक्ष जितेको थियो ।

कांग्रेसले खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका प्रमुख तथा अध्यक्ष जितेको छ । एमालेका उम्मेदारहरु मादी नगरपालिका, धर्मदेवी नगरपालिका, चैनपुर नगरपालिका र भोटखोला गाउँपालिका प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन् ।

दश स्थानीय तहका ७६ वडामध्ये एमालेबाट ३४ वडाध्यक्ष निर्वाचित भएका छन् । कांग्रेसबाट ३३ वडाध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट नौ र स्वतन्त्रमा एक वडाध्यक्ष निर्वाचित भएका छन् । वडाध्यक्षहरुमा एमाले पहिलो देखिएको छ ।

त्यसैगरी, कांग्रेसबाट तीन र एमालेबाट चार उपप्रमुख तथा उपाध्यक्ष विजयी भएका छन् । माओवादीले एक, नेकपा (एकीकृत समाजवादी)ले दुई उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । विसं २०७४ को निर्वाचनमा एमाले छ ओटा र कांग्रेसले चारओटा उपप्रमुख तथा उपाध्यक्ष जितेको थियो ।

खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया र उपप्रमुखमा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी भएका छन् । मादी नगरपालिकाको प्रमुखमा एमालेका जीवन लिंथेप र उपप्रमुखमा सुनितादेवी भट्टराई निर्वाचित भएकी छन् ।

पाँचखपन नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विपिन राई र उपप्रमुखमा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ विजयी भएका छन् । भोटखोला गाउँपालिकाको अध्यक्षमा एमालेका वाङ छेदर लामा उपाध्यक्षमा एमालेकै सहना लामा निर्वाचित भएकी छन् ।

मकालु गाउँपालिका गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका ओङदी शेर्पा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की मनकला राई विजयी भएका छन् । सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ निर्वाचित भएका हुन् ।

चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्वू शेर्पा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने उपाध्यक्षमा मनकला राई निर्वाचित भएकी छन् । धर्मदेवी नगरपालिकाको प्रमुखमा एमालेका उदचन्द्र पौडेल र उपप्रमुखमा कांग्रेसकी तारा महत विजयी भएकी हुन् । चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्णकुमार तामाङ र उपप्रमुखमा एमालेकै एलिना श्रेष्ठले विजयी भएकी छन् ।

दुई पालिका प्रमुख दोहोरिए
सङ्खुवासभामा दुई पालिका प्रमुख दोहोरिएका छन् । एक नगरप्रमुख र एक पालिका अध्यक्ष पुनः दोहोरिएका छन् । पाँचखपन नगरपालिका प्रमुख विपिन राई र चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पा पुनः निर्वाचित भएका छन् । पाँचखपनका राई र चिचिलाका शेर्पा २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । मकालु गाउँपालिका अध्यक्षमा ओङ्दी शेर्पा निर्वाचित भएका छन् । शेर्पा २०७४ को निर्वाचनमा मकालु गाउँपालिका–१ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...