एमालेलाई जिताए ओलीले संसद् र स्थानीय तह भंग गरिदिन सक्छन् : प्रधानमन्त्री देउवा

207

काठमाडौँ, २६ वैशाख । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)ले जितेमा केपी शर्मा ओलीले फेरि संसद् भंग गर्दिन सक्ने भन्दै एमालेलाई सरकारमा ल्याउन नहुने बताएका छन् ।

सोमबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । “विरोध गर्नेबित्तिकै संसद् विघटन गर्न मिल्छ । संसद् विघटन गर्नै पाइँदैन । जबरजस्ती भंग गर्नुभयो । दुईतिहाइ बहुमत आए पनि संसद् भंग गरिहाल्ने फिर्ता ल्याए पनि चल्न नदिने प्रवृत्ति छ,” उनले भने,“त्यसकारण एमालेलाई जिताएर के फेरि संसद् भंग गर्ने हो र । ओलीजीको पार्टी ल्याउनु भनेको संसद् भंग गराउनु हो । त्यस्तो पार्टीलाई सरकारमा फेरि ल्याउनु हुँदैन ।”

एमालेले जितेको अण्डमा ओलीले त्यही गर्ने भन्दै अहिलेको अवस्था भनेको संसद् भंग हुनबाट मुक्त गर्नका लागि पनि एमालेले जित्न नहुने उनले बताए । “हामीले जित्यौँ भने संसद् भंग पनि गर्दैनौँ । विकास निर्माण गर्छौँ,” उनले भने,“ओलीजी त भोलि स्थानीय सरकारलाई भंग गर्दिन सक्छन् । प्रदेश सरकार भंग गर्दिन्छु भनेकै थिए ।”

प्रधानमन्त्री देउवाले आउने चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने बताए । चुनावमा पार्टीका बागी उम्मेदवारलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे ।

देउवाले सुदूरपश्चिम प्रदेश आफ्ना लागि अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै सुदूरपश्चिमकै कारण आफू देशको प्रधानमन्त्री भएको बताए ।

देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफूले सक्दो विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै खुटिया–दिपायल–बझाङसम्मको सडक, कर्णाली नदी किनारै किनार हुँदै अछाम जोड्ने सडक निर्माणका लागि पहल गर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...