प्रचण्ड र देउवाले घाँटी जोड्दैमा जनताले गठबन्धनलाई भोट हाल्दैनन् : इन्द्रलाल सापकोटा

134
  • रोशन जिसी

बागलुङ, २० वैशाख । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बागलुङका सहइन्चार्ज इन्द्रलाल सापकोटाले सत्ता स्वार्थका लागि प्रचण्ड र देउवाले घाँटी जोड्दैमा तलका जनताले गठबन्धनलाई मतदान नगर्ने बताएका छन् ।

नेकपा (एमाले) काठेखोला गाउँपालिकाले भिमापोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधनगर्दै उनले सशस्त्र द्वन्द्वको समयमा एकले अर्कालाई सिध्याउन तल्लिन देउवा र प्रचण्डले सत्ता स्वार्थका कारण गरेको गठबन्धनप्रति जनता सकरात्मक नरहेको दाबी गरे ।

मुलुकको आर्थिक विकास र समृद्धिका लागि नभई गठबन्धन सत्ता प्राप्तिको अभियानमा लागेकाले जनताले सूर्य चिन्हमा मतदान गर्न आतुर रहेको बताए । उनले काठेखोलाको विकासका लागि एमालेको नेतृत्वमा रहेको स्थानीय सरकार गाउँपालिका र वडाले गरेका काम जनताको पक्षमा रहेको चर्चा गर्दै सापकोटाले यहाँको विकास र समृद्धिका लागि एमालेका उमेदवारलाई विजयी गराउन आह्वान गरे ।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख कृष्णबहादुर केसीले मुलुकको समृद्धि, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि एमालेको विकल्प नरहेको बताए ।

एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले काठेखोलाका जनतालाई आर्थिक रुपमा सक्षम, सामाजिक रुपमा सवल बनाउन एमालेले गरेका कामका आधारमा जनता एमालेलाई विजयी गराउन आतुर रहेको बताए ।

नेकपा एमालेको तर्फबाट काठेखोला गाउँपालिका अध्यक्षका उमेदवार डिलबहादुर कार्की, उपाध्यक्षका उमेदवार कोपिला पुन, वडा अध्यक्षका उमेदवार विद्यापति शर्माले काठेखोलाको समग्र विकासका लागि जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेकपा एमालेले काठेखोलाका ८ वडामा ८ पहिचानका आधारमा प्रतिबद्धता पत्र बनाएर चुनावी अभियानमा जुटेको छ । भिमापोखरालाई पशुपालन र तरकारीको विशेष क्षेत्र बनाउनेलगायतका कार्यक्रम अगाडि सारेको एमालेले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...