स्थानीय तह निर्वाचन : सङ्खुवासभामा १ हजार ११ जनाको उम्मेदवारी

342

खाँदबारी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सङ्खुवासभामा १ हजार ११ जनाको उम्मेदवारी दर्ता भएको छ । १० स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ७६ वडाका वडाध्यक्ष र सदस्य गरी ४०० पदका लागि सो उम्मेदवारी दर्ता भएको हो ।

जिल्लाका २० स्थानीय तहका विभिन्न पदका लागि १ हजार ११ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख जयप्रकाश बस्नेतले जानकारी दिए ।

खाँबारी नगरपालिकाको मेयरमा स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए । ११ ओटा वडा रहेको खाँदबारीमा ५७ पदका लागि १४१ जनाको उम्मेदवारी परेको छ ।

चैनपुर नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा ४/४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो नगरपालिकाको ५७ पदका लागि १३४ जनाको उम्मेदवारी परेको छ । यस्तै, धर्मादेवी नगरपालिकामा मेयर र उपमेयरका लागि ३÷३ जनाको उम्मेदवारी परेको छ । ९ वडा रहेको धर्मादेवीमा ४७ पदमा १०७ जनाले उम्मेदवारी दिएका छन् ।

पाँचखपन नगरपालिका नगरप्रमुखमा २ स्वतन्त्रसहित पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, उपमेयरमा १ स्वतन्त्रसहित ४ जनाले उम्मेदवारी दिएका छन् । पाँचखपनमा ४७ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ । यस्तै, मादी नगरपालिकाको मेयरमा १ स्वतन्त्रसहित ४ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरमा पनि ४ जनाको उम्मेदवारी परेको छ । मादीमा ४७ पदका लागि ११० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

चिचिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा ४/४ जनासहित ७८ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, भोटखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा ३/३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भोटखोलामा २७ पदका लागि ६४ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, मकालु गाउँपालिका अध्यक्षमा २ स्वतन्त्रसहित ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा १ स्वतन्त्रसहित ६ जनाको उम्मेदवारी परेको छ भने ३२ पदका लागि १०१ जनाले उम्मेदवारी दिएका छन् । यस्तै, सभापोखरी गाउँपालिकामा ४ जनाले अध्यक्ष पदमा र उपाध्यक्षमा १ स्वतन्त्रसहित ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ६ वडा रहेको सभापोखरीमा ३२ पदका लागि ७५ जनाको उम्मेदवारी परेको छ ।

सिलिचोङ गाउँपालिका अध्यक्षमा १ स्वतन्त्रसहित ५ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन् । सिलिचोङमा २७ पदका लागि ७४ जनाको उम्मेदवारी गरेको छ ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसले समान पाँच–पाँच स्थानमा जित हासिल गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...