सङ्खुवासभा बस दुर्घटना : मृतक १४ मध्ये १० जनाको पहिचान खुल्यो [अपडेट]

428

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुने १० जनाको पहिचान खुलेको छ ।

दमकतर्फ जाँदै गरेको बा४ख७३५ नम्बरको बस बिहान ७ः४५ बजेतिर सातघुम्तीस्थित सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । तीमध्ये १० जनाको र घाइते ५ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दिपक दाहाल, मादी–६का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, मादी–४ बस्ने ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की रहेका छन् ।

यस्तै, मादी–५ का ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहाल, मादी–६ की ५ वर्षीय दीक्षा कटवाल र मादी ६ बस्ने वर्ष नखुलेकी अञ्जना कटवाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए ।

दुर्घटनामा मृत्यु भएका एक पुरुष, २ महिला र एक बालकको पहिचान भने अहिले खुल्न सकेको छैन ।

यस्तै, बस दुर्घटनमा घाइते ५ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मादी–५का सुवास गोले, मादी–६ की २२ वर्षीय तुलसा कटुवाल, सोही स्थानकी वर्ष नखुलेकी अम्बिका विक, ५० वर्षीय डम्बरबहादुर कार्की र मादी–५ की ३० वर्षीया युका पोखरेल छन् ।

दुर्घटनामा घाइते भएका ५ जनाकै नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरेर काठमाडौँ लाने तयारी भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...