धरानको होटलमा महिला हत्या प्रकरण : अन्य पुरुषसँग फोनमा कुरा गरेपछि हत्या !

326

काठमाडौँ । धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एन्ड गेष्ट हाउसको कोठामा महिलाको हत्य गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ सरङडाँडाकी सुमित्रा तामाङको हत्या गरेको आरोपमा इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका–६ फलाटेका २४ वर्षीय जीवन र राम भनिने दिनेश राना पक्राउ परेका हुन् । मृत तामाङ पनि इटहरी–५ तुलसा टोलमा डेरा गरी बस्दै आएकी थिइन् ।

यही फागुन १७ गते बिहान धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एन्ड गेष्ट हाउसको कोठामा तामाङको शव फेला परेको थियो । घटना अनुसन्धानका क्रममा हत्यामा दिनेशको संलग्नता देखिएपछि पाख्रिबास–११ स्थित उनकै ससुराली घरबाट मृतकको मोबाइलसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार केही समय पहिले इटहरीमा सिटी सफारी चलाउने गरेको र सोही समयमा इटहरी–५ तुलसा टोल बस्दै आएकी मृतक तामाङसँग भेट भएको थियो । सो क्रममा उनीहरुबीच माया प्रेम हुन पुगेको थियो । दिनेश पछिल्लो समय ह्याभी इकुपमेन्टको सहचालक बनेर ३/४ महिनादेखि भोजपुर बस्न थालेका थिए ।

प्रहरीका अनुसार श्रीमान् विदेशमा रहेका बेला विगत १ वर्षदेखि सुमित्रासँग उनको प्रेम सम्बन्ध रहेको खुल्न आएको छ । पटक–पटक भेटघाट हुने गरेको। आपसी सल्लाहअनुसार फागुन १५ गते बिहान उनीहरु उक्त होटेलमा बसेको पनि अनुसन्धानका क्रममा देखिएको छ ।

घरमा श्रीमती र दुई छोराहरु हुँदा हुँदै अन्यत्रै प्रेमिका बनाएका दिनेशले सुमित्रालाई अञ्जान पुरुषको फोन आएको निहुँमा झगडा परेको र आफू आवेगमा आएर घाँटी थिचेर र कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक बयानमा दिनेशले स्वीकारेको प्रहरीले जनाएको छ । लगत्तै उनी पाँच हजार रुपैयाँ र मोबाइलसमेत लिइ होटेलबाट फरार भएका थिए ।

दिनेशविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...