भोटखोलाबाट हेलिकाेप्टरमार्फत् गर्भवती महिलाको उद्धार

469

खाँदबारी । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्काबाट गर्भवती महिलाको उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव भएकी भोटखोला–१ किमाथाङ्का निवासी १७ वर्षीया गर्भवती पेम्बा ल्हामु च्यावाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य सहसंयोजक स्टाफ नर्स अमृता तामाङले बताइन् ।

गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि च्यावालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काडमाडौँ लगिएको हो । गर्भवती च्यावालाई अत्यधिक रक्तस्राव भएपछि बुधबार दिउँसो किमाथाङ्का स्वास्थ्य चौकीमा भर्ना ल्याइएको थियो ।

गर्भवती च्यावाको रक्तस्राव नरोकिएपछि बुधबार साँझ ४ बजे थप उपचारका लागि हेलिकोप्टरमार्फत काडमाडौँको थापाथली प्रसूति गृहमा लगिएको स्वास्थ्य सहसंयोजक तामाङले बताइन् । दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ ।

सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म आधा दर्जन बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ । जिल्लामा हालसम्म ४ जना सुत्केरी महिलाले ज्यान गुमाइसकेका छन् ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागि बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा नै बच्चाको मृत्यु भएमा र सुत्केरी पश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...