खाँदबारी । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन एमालेलाई आगामी निर्वाचनमा नेपाली जनताले एकल बहुमत दिने दाबी गरेका छन् ।
सोमबार सङ्खुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अन्य दलहरुले गठबन्धन गरेर आएपनि आगामी निर्वाचनमा एमालेलाई हराउन नसक्ने दाबी गरे ।
“अहिले जुन प्रकारको गठबन्धन सरकार छ । गठबन्धन सरकार कुन हदसम्म नालायक छ । अति अर्कमण्य छ । कति विकास विरोधी छ भन्ने कुरा यहाँहरुले देखि सक्नु भएको छ । त्यस अर्थमा विकासका अभियानहरुलाई अगाडि बढाउनका निमित्त सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्नका निम्ति फेरि एमाले नेतृत्वको सरकार अपरिहार्य छ,” उनले भने ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले एमालेसँग एक्लै लड्ने आँट नभएकाले गठबन्धनको कुरा गरिरहेको बताए । “एक्लै लड्ने हिम्मत भएकाले लडे हुन्छ । आँट नभएकाले गठबन्धन बनाएर आए हुन्छ,” उनले भने, “जसले जे गरे पनि आउने निर्वाचनमा एमालेले बहुमत ल्याउने छ ।”