काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफूनिकट नेताहरुको छुट्टै भेला बोलाएका छन् ।
सभापतिका प्रत्याशी डा.कोइरालाले आफूनिकट नेताहरुसँग महाधिवेशन र त्यसपछिको राजनीतिका विषयमा छलफल गर्न भेला बोलाएका हुन् । बैठक दिउँसो २ बजे बस्ने छ ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार बैठकमा १४औँ महाधिवेशनमा कोइराला समूहबाट उम्मेदवार बनेका सबै नेताहरुलाई बोलाइएको छ ।
भेलाको तयारीस्वरुप डा.कोइरालाले मंगलबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेताहरुसँग छलफल गरेका थिए ।
डा.कोइरालाले मंगलबार उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार डा.मिनेन्द्र रिजाल, नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीलगायतसँग रणनीतिक छलफल गरेका थिए ।
महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले दुई बैठक गरेका छन् भने प्रदेश मन्त्रिपरिषद् विस्तार, राष्ट्रियसभा सदस्य निर्वाचनमा टिकट वितरण र १३ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । देउवाले १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा गुटलाई प्रश्रय दिएको आरोप लागेको छ । उनले कोइराला पक्षका नेतालाई प्राथमिकता दिएका छैनन् ।
आफ्नो प्यानलबाट पराजित उपसभापति, महामन्त्री र सहमहामन्त्रीलाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरे पनि डा.कोइरालाको प्यानलबाट पराजितलाई मनोनीत नगरेका हुन् । विधानमा सभापतिले समावेशी सिद्धान्त र एक तिहाइ महिला सहभागितालाई सुनिश्चित गर्दै ३३ जना केन्द्रीय सदस्य मनोनीतको व्यवस्था छ । सोअनुसार देउवाले अब २० जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन् ।
डा.कोइराला कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा देउवासँग हारेका थिए । देउवाले उनलाई वरीयतामा पनि २०औँ नम्बरमा राखेका छन् ।