लुम्बिनी । लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले प्रदेश सरकारले कृषि मैत्री बन्दै गएको दाबी गरेकी छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले आफू बिना विभागिय मन्त्री हुँदा प्रदेशका विभिन्न जिल्लाका कृषकहरुसँग अन्तरक्रिया गरेको बताउँदै अब कृषि मन्त्रीको रुपमा किसानका समस्या हल गर्ने बताइन् ।
उनले सरकारले कृषि मैत्री बजेटको व्यवस्था गरेको बताउँदै हेफरलगायतका संघ–संस्थाहरुसंग सहकार्य गर्दै कृषि क्षेत्रको व्यवसायिकतामा जोड दिने जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षत्रीले प्रदेशमा ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको बताउँदै कृषिबाट आत्मनिर्भर बन्नका लागि प्रदेश सरकारले कृषि मैत्री बजेट ल्याएको दाबी गरिन् ।
कार्यक्रममा हेफर इन्टरनेसनल नेपालका वरिष्ठ उपाध्यक्ष डाक्टर महेन्द्र लोहनीले दुग्ध तथा माशुजन्य उत्पादनका लागि हेफरले कृषकहरुलाई नेपालमा सहयोग गर्दै आएको जानकारी दिए ।