पाँच जना मिलेर अघिल्लो रात बनाएका थिए तेजकुमारलाई मार्ने योजना

मादी हत्याकाण्डमा नयाँ ट्विस्ट

288

काठमाडौं । सङ्खुवासभाको ‘मादीमा भएको सामूहिक हत्याकाण्ड’ योजनाबद्ध रुपमा भएको रहस्य खुलेको छ । कुनै आवेगमा मात्र नभई सामूहिक रुपमा मिलेर परिवारकै हत्या गर्ने योजना बनेको मुख्य योजनाकार पक्राउ परेपछि थाहा भएको छ ।

सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्ड एउटा समूहले योजनाबद्ध रुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

घटनाको थप अनुसन्धान गर्न १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरूणकुमार विसीको निर्देशनमा संघीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बविन्द्र नेम्वाङसहितको संयुक्त अनुसन्धान टोली निरन्तर रूपमा थप अनुसन्धानमा जुटेका थिए ।

सो टोलीले थप तथ्य र घटनाको मुख्य योजनाकारसहित मादी नगरपालिका–१ उम्लिङ खोला गाउँ बस्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

पक्राउ पर्नेहरुमा वर्ष ४७ को खड्गबहादुर कार्की (मुख्य योजनाकार), उनकै छोरा वर्ष २८ को हस्तबहादुर कार्की, मुख्य अभियुक्त भनिएका लोकबहादुर कार्कीका बुवा वर्ष ४९ को रणबहादुर कार्की र उनका भाइ १७ वर्षीय नरेश कार्की रहेको प्रहरीले जनाएको छ ।

यसरी बन्यो सामूहिक हत्या योजना
सो हत्या योजना सामूहिक रुपमा बसेर बनाएको खुलेको छ । अभियुक्तहरु ५ जनाको समूहले घटाएको घटनाएको प्रहरीको भनाइ छ । यो योजना अभियुक्त लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत बसेर बनाएका थिए ।

योजना अनुसार, घटनाको दिन २१ गते बिहान मृतक तेजकुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने योजना थियो । त्यस्तै अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने र अनुकूल मिलेमा तेजकुमारको घरमा भएको धनमालसमेत लाने योजना बनाए ।

घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा अभियुक्तहरू खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित थियो ।

योजना अनुसार मृतक तेजकुमार बिहान आउने निश्चित गर्न खड्गबहादुर बिहान ५ बजे तेजकुमारको घरमा गई ‘लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नु’ भनि तेजकुमारलाई लोकबहादुरको घरतर्फ जान अभिप्रेरित गर्छन् । खड्गबहादुर त्यसपछि घरतर्फ फर्केको र तेजकुमार लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर तेजबहादुरको घर पछाडि चिर्पट बोकी तयारी हालतमा बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतक तेजकुमार बिहान ५ बजे उठी लोकबहादुरको घरमा खेताला निश्चित गर्न गई सुतिरहेको लोकहादुरलाई ‘अल्छी अझैसम्म उठेको छैनस्’ भन्दै कराएपछि लोकबहादुर उठेको, लोकबहादुरको भाइ नरेश कार्की र बाबु रणबहादुरसमेत घरमै थिए ।

घरबाट फर्कने क्रममा योजनाअनुसार लोकबहादुरले भाइ नरेशलाई इशारा गरी आफूले दाउराको चिर्पट र अलैची काट्ने चक्कु बोकी पछि–पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेजकुमारको टाउकोमा प्रहार गरी लडाएको र खड्गबहादुर र हस्तबहादुर दाउराको चिर्पट लिई आई तेज कुमारमाथि प्रहार गरेको र हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरेर घोप्टो पारेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

घटनाको बेला मृतकले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै गरेको हार गुहार सुनेपछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेजकुमारको श्रीमति र बुहारी आएकोमा लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेका थिए ।

त्यसपछि बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेको र खड्कबहादुर, लोकबहादुर र हस्तबहादुर मिली हत्या गरेका थिए । मृतक रञ्जनाको लाश रणबहादुर र नरेशसमेतले कमलाको लाश भएको स्थानसम्म पुर्याउन सहयोग गरेका थिए ।

उक्त घटनाको बेला मृतक नावालकहरू दीपेन र गोमासमेत घर नजिकको बाटोमा आएको देखे । हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनेर लोकबहादुरले चिर्पटले हिर्काइ घाँटी बटारी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि पाँचैजना अभियुक्तहरू मृतकको घरतर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याई रहेको अवस्थामा हस्तबहादुरले समाति घर पछाडिको गोठ नजिक लगेर लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाँटी बटारी हत्या गरेको र सबैजना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोकहादुरको घरमा गई लागेको रगत पखाली छुरी धोएर बुइँकलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, रगत लागेको कपडाहरू समेत लुकाएका थिए ।

खड्गबहादुर र निजको छोरा हस्तबहादुर घरतर्फ गए । फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्वीच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको थियो ।

पुनः खड्गबहादुर र निजको छोरा हस्तबहादुर लोकबहादुरको घरमा गई सबे जना मिलेर कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने सल्लाह गरेका थिए । प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधि पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी फर्केका थिए ।

घटनामा संलग्न थप चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत बरामद गरी थप अनुसन्धान भइरहेको छ ।

घटनाका मुख्य कारण
अभियुक्तहरूमध्ये खड्गबहादुर नियमित रूपमा रक्सी पिउँथे । घरमा श्रीमति र परिवारका सदस्यहरूलाई कुटपिट गर्ने, गाली गलौज गर्ने र तेज कुमारले सधैँ गाली गर्थे ।

तेजकुमारले ‘तँ जड्याहा किन यसो गर्छस ?’ भन्दै हप्काउँथे । खड्गबहादुरले पनि ‘तँलाई के मतलव, तँलाई मार्छु’ भन्दै झगडा गर्ने गरेका थिए ।

त्यस्तै, तेजकुमारले लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने र रणबहादुरलाई समेत ‘तँ लठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गरेका थिए ।

तेजकुमारले जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ति दिने गरेको भन्दै अभियुक्तहरुले मनमा इख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानुपर्ने कारण सोही मौका छोपी योजना बनाएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...