विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

0

काठमाडौँ, ८ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदार बहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र भक्तपुर सूर्यविनायक नगरपालिका–७ की ५५ वर्षीया सुनिता खत्री रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकामध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै तीन लाख ५० हजार रुपैयाँ, केदारबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ तथा रामतुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै तीन लाख ५० हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...