सङ्खुवासभा हत्याकाण्ड : सँगै सुतेका ७ मध्ये ६ जनाको शव छुट्टाछुट्टै स्थानमा भेटियो, एकजना जीवितै

640

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको हत्याकाण्डमा नयाँ ट्विस्ट आएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएका छन् । मृत फेला परेका सबै शव फरक फरक स्थानमा भेटिएको प्रदेश १ प्रहरी कार्यालय रानीले जनाएको छ ।

सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका हुन् ।

तेजबहादुरको शव घरको आँगनमा फेला परेको छ भने श्रीमती मनमाया र बुहारी रञ्जनाको घरनजिकै खोल्सीमा भेटिएको छ । तेजबहादुरका नाति/नातिना दीपक र गोमाको शव घरदेखि माथि मकै बारीमा भेटिएको वडाध्यक्ष खेमनाथ कट्वालले जानकारी दिए । उनकाअनुसार मृतकको टाउको ढाडलगायतका शरीरका केही अंगमा चोट रहेको छ । तेज बहादुरका दुई भाई, छोरा भने वैदेशिक रोजगारीमा छन् । रञ्जनाका श्रीमान् रमेश पनि वैदेशिक रोजगारीमै छन् ।

“धारिलो हतियार प्रहारबाट हत्या भएको भन्ने खबर प्राप्त भएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डिएसपी कमाण्डमा टोली खटाइ सकिएको छ,” प्रदेश १ प्रहरी कार्याल रानीका प्रमुख अरुण बिसीले भने, “थप अनुसन्धान जारी छ ।”

Share This:
सम्बन्धित खबर
Loading...