लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीसहित ७ मन्त्रीले लिए शपथ

260

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

केसीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । उनीसँगै गठबन्धन दलका अन्य ६ जना मन्त्रीलेसमेत पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाली कांग्रेसका डिल्ली चौधरीले ग्रामिण तथा सहरी विकासमन्त्री, जनता समाजवादी पार्टी (जसपा)का सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजनामन्त्री तथा अन्यले बिना विभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन् ।

जसपाका पूर्मती ढेंगामगर र सुमन शर्मा रायमाझीले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् । यसैगरी नवलपरासीबाट सूर्य चिन्हमा चुनाव जितेका अजय शाहीले समेत बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् । शाहीलाई नेकपा एमालेले पार्टीको नीतिविपरीत गएको भन्दै कारबाही गर्ने जनाएको छ ।

प्रदेशसभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेस भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...