ज्वेलर्स लुटपाट प्रयास : पूर्वसेना र माओवादी लडाकुसहित ६ जना पक्राउ

433

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराटचोकस्थित त्रिवेणी टोलमा रहेको शिव पञ्चायन ज्वेलर्समा लुटपाटको प्रयासमा माओवादीका पूर्वलडाकु र पूर्वनेपाली सेनाको संलग्नता देखिएको छ ।

खगेन्द्र थापाले सञ्चालन गरेको सो ज्वेलर्समा गत साउन १ गते दिउँसो लुटपाटको असफल प्रयास भएको थियो । दिउँसो साढे १ बजे ज्वेलर्समा हतियारसहित मोटरसाइकलमा आएको एक समूहले हतियार देखाइ लुटपाट गर्ने असफल प्रयास गरेको थियो । त्यसपछि फरार रहेका लुटपाटमा संलग्नलाई बुधबार बिहान ३ बजेतिर नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा सङ्खुवासभा बाह्रबिसे–६ घर भइ हाल इटहरी–२० डेरा गरी बस्दैआएका ३० वर्षीय चिरञ्जिवी राई, सङ्खुवासभा सभापोखरी–४ घर भइ हाल इटहरी–२० तरहरा बस्ने ३९ वर्षीय चन्द्र बहादुर राई, मोरङ सुन्दरहरैँचा–५ का २२ वर्षीय मिसन राई, भोजपुर पौवादुम्मा गाउँपालिका–३ घर भइ इटहरी–२० बस्ने ३० वर्षीय नगेन्द्र राई, सुनसरीको गढी गाउँपालिका–१का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी र मोरङ सुन्दरहरैचा–७ का ३१ वर्षीय सन्तोष राई रहेका छन् ।

अत्याधुनिक हतियार देखाएर सर्वसाधारणलाई आतंकित एवम् त्रसित बनाउँदै गरिएको लुटपाटको प्रयासमा माओवादीका पूर्वलडाकु र पूर्वनेपाली सेनासम्मिलित गिरोहको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

गिरोहमा संलग्न ६ जना अत्याधुनिक एवम् स्वचालित हतियार र ठूलो मात्रामा गोलीसहित प्रकाउ परेका छन् । सुनसरीमा योजना बनाएर यो गिरोह लुटपाटको प्रयास गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

पक्राउ परेकामध्ये चन्द्र बहादुर राई नेपाली सेनाको शेरजंग गणमा कार्यरत पूर्वजवान रहेको खुलेको छ । उनले तीन वर्षअघि जागिर छाडेका थिए । त्यस्तै डाइमण्ड भनिने प्रमोद चौधरी माओवादीका पूर्व लडाकु हुन् । मान्छेको हत्यामा संलग्न उनीविरुद्ध सुनसरीबाट कर्तव्य ज्यान मुद्दा चलेको थियो । उक्त मुद्दामा कैद सजाय भुक्तान गरेर डेढ वर्षअघि मात्रै छुटेपछि उनी राईसँग मिलेर अपराधिक गिरोह खडा गर्दै लुटपाटलगायतका घटनामा संलग्न हुन थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेकाहरुको साथबाट एउटा एसएमजी, त्यसको म्यागजिन, ६२ राउन्ड गोली, कटुवा र अटोमेटिक गरी दुईवटा पेस्तोल, पेस्तोलको एउटा म्यागजिन, पेस्तोलको दुई र थ्री नट थ्री राइफलको चार राउन्ड गोली तथा दुई वटा सञ्चार सेट बरामद भएको एसपी जिसीले बताए ।

उनका अनुसार को२ह २७३६ अटो टेम्पो, प्रदेश १–०२–०४४ प ५९९५, को२०प १८६, को८प ६५८३, को२१प ६७०३ नम्बरको ४ वटा मोटरसाइकल तथा विभिन्न ८ वटा मोबाइल एवम् १६ हजार रुपैयाँ नगद बरामद भएको छ ।

पक्राउ परेकाविरुद्ध प्रहरीले हातहतियार खरखजना, डाँका, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित चारवटा कसुरमा मुद्दा चलाउन बुधबार म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...