इजरायलबाट ५८ थान भेन्टिलेरसहित २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

537

काठमाडौं । इजरायलबाट स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को विमान आज बिहान ११ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको दूतावासले जानकारी दिएको छ ।

नेपाली दूतावास इजरायलको पहलमा इजरायल सरकार, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरु, व्यवसायीक क्षेत्र र कम्पनीलगायतबाट संकलित तथा नेपाली दूतावास परिवारसहित इजरायलवासी नेपालीबाट संकलित सहयोग रकमबाट खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु लिएर नेपाल एयरलाइन्सको विमान नेपाल आइपुगेको हो ।

विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरु तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरेसहितको टोली पुगेका थिए र उनीहरुलाई ती हस्तान्तरण भएको पनि दूतावासले जनकारी दिएको छ ।

इजरायलका लागि नेपाली राजदूत अञ्जना शाक्यका अनुसार करिब २० करोड रुपैयाँ बरबारका १८ टन स्वास्थ्य सामग्री नेपाल ल्याइएको हो ।

उनका अनुसार सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसियूसँग सम्बन्धित उपकरण, पिपिई, थर्मल गनलगायत कोरोनाको उपचारसँग सम्बन्धित छन् । यसअघि पनि राजदूत शाक्यले नेपालका लागि इजरायलकातर्फबाट कोभिडसँग सम्बन्धित विभिन्न सहयोग जुटाउन उल्लेख्य भूमिका खेलेकी थिइन् ।

कोभिड–१९सँग सम्बन्धी इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँग समन्वयमा ‘स्मार्ट कोभिड कमान्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा.शाक्यले बताइन् । उनका अनुसार यसका लागि प्राविधिक विज्ञहरुले नेपालको सिसिएमसीसँग जुम मिटिङमार्फत आवश्यक परामर्श दिन थालिसकेका छन् ।

“इजरायलमा भर्खरै मात्र सरकार परिवर्तन भइ नयाँ प्रधानमन्त्री नियुक्त भएको तथा इजरायलमा नयाँ सरकार बनेको अवस्था छ,” शाक्यले भनिन्,“इजरायलमा युद्ध चलिरहेको र अस्थायी युद्धविराम भए पनि छिटपुट युद्ध भइरहेको अवस्था छ । यस्तो प्रतिकूल अवस्थामा पनि नेपालका लागि सहयोग गर्ने अवसर पाउँदा खुसी लागेको छ,” शाक्यले भनिन्,“ यो सहयोग जुटाउन सहयोग गर्ने इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायीक क्षेत्र, इजरायलीहरु, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपाली सबैलाई धन्यवाद दिन चाहन्छु ।”

Share This:
सम्बन्धित खबर
Loading...