१८ किलो गाँजा र ७ लाख नगदसहित कारोबारमा संलग्न ६ जना पक्राउ

456

मोरङ । लागुऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद ७ लाख १६ हजार ६ सय, भारतीय नगद २ हजारलगायत विभिन्न कम्पनीको मोबाइल थान–६ फेला पारी बरामद गरेको छ ।

प्रहरीले थप अनुन्धान गर्ने क्रममा लागुऔषध गाँजा ओसार पसारमा प्रयोग गरेको को१च २४१२ नम्बरको मारुती भेन र उनीहरुले विराटनगर महानगरपालिका–६ रामपुरस्थित झाँडीमा लुकाइछिपाई राखेको १८ किलो गाँजासमेत फेला पारी बरामद गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज–१ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभूमि गाउँपालिका–१ का ३२ वर्षीय रुद्र राई र धरान उपमहानगरपालिका–१३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सूर्य राई रहेका छन् । यस्तै, भारतीय नागरिक भारत अररिया फार्बिजगञ्जका १९ वर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुरका २८ वर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुरका ३० वर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् ।

पक्राउ परेकामध्ये सूर्य राई भेन चालक रहेको खुल्न आएको छ । पक्राउ परेका ६ जना उपर लागुऔषध कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...