इटाली बन्यो युरो कपको नकआउट चरणमा पुग्ने पहिलो टोली

283

काठमाडौं । आफ्नो समूहको दोस्रो खेलमा स्वीट्जरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटाली नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । म्यानुएल लोकाटेलीले २ तथा सिरो इम्मोबिलले एक गोल गरेपछि इटालीले सहज जित दर्ता गरेको हो ।

खेलको २६औँ मिनेटमा म्यानुएल लोकाटेलीको गोलबाट इटालीले अग्रता लिएको थियो । दोस्रो हाफको ५२औँ मिनेटमा म्यानुएल लोकाटेलीले नै व्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । निको बरेल्लाको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले प्रहारमा स्वीट्जरल्यान्डका गालरक्षक यान सोमरले कुनै प्रतिक्रिया दिन सकेनन् ।

२–०ले अघि बढेको इटालीले खेलको अन्त्यतिर अग्रता तेब्बर बनायो । ८९औँ मिनेटमा सिरो इम्मोबिलले गोल गर्दै ३–०को जित सुनिश्चित गरे ।

जितसँगै समूह ‘ए’को शीर्ष स्थानमा रहेको इटालीको २ खेलबाट ६ अंक रहेको छ । समान दुई खेल खेलेको वेल्स ४ अंकसहित दोस्रो, स्वीट्जरल्यान्ड १ अंक जोड्दै तेस्रो र टर्की पुछारमा छ ।

यसअघि समूह ‘ए’कै खेलमा वेल्सले टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको थियो ।

खेलको ४२औँ मिनेटमा आरोना राम्सीले गोल गर्दै पहिलो हाफमा १–०ले अग्रता लिएको थियो । ग्यारेथ बेलको पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै फिनिस गरेका थिए ।

दोस्रो हाफमा टर्कीले बराबरी गर्ने अवसर पाएको थियो । ५०औँ मिनेटमा हाकान चाल्हानोग्लुको प्रहार ड्यानी वार्डले बचाएपछि टर्की खेल बराबरी गर्नबाट रोकियो ।

अतिरिक्त समयको पाँचौँ मिनेटमा कनर रोबर्ट्सले गोल गर्दै वेल्सको जिच सुनिश्चित गरे ।

Share This:
सम्बन्धित खबर
Loading...