क्यान्सर अस्पताललाई राज्य नियन्त्रित अखडा बनाउने सरकारको नियत : कांग्रेस

221

काठमाडौं । नेपाली कांग्रेसले क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राखेको आरोप लगाएको छ ।

सरकारले बजेटमा ल्याएको क्यान्सर संस्थानको अवधारणामा ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियत रहेको आरोप कांग्रेसले लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै यो कदम तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

“बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणामार्फत् ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियतमाथि सरोकारवालाहरुको गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारी रहेको विषयमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,” प्रवक्ता शर्माले भनेका छन् ।

अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र सशक्तिकरणका योजना ल्याउनुपर्नेमा सरकारले उल्टै विवादस्पद संरचना मातहात ल्याउने नियत राख्नु गलत भएको कांग्रेसको ठहर छ । प्रवक्ता शर्माले गम्भीर विमर्शपश्चात मात्रै उचित विकल्पको निष्कर्षमा पुग्नुपर्ने भन्दैै क्यान्सर अस्पताल जस्तो संवेदनशील विषयलाई हाल यथास्थितिमा राख्न सरकारलाई चेतावनी दिएका छन् ।

“क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप व्यवस्थित, प्रोत्साहित र बढावा दिन निश्चयनै जरुरी छ । त्यसका लागि स्थापित स्वास्थ्य प्रतिष्ठानहरु हाम्रो भरपर्दो आधार हुन्,” विज्ञप्तिमा भनिएको छ,“त्यसका लागि सक्षम प्रतिष्ठनाहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र सशक्तिकरण गर्ने योजना उपयुक्त हुनेमा त्यसो नगरी अलग्गै विवादास्पद र संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ ।”

शर्माले भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, विज्ञ विमर्श र सरोकारवालाहरुसँग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यसपछिको निश्चित नियतलाई प्रष्ट गरिसकेको आरोप लगाएका छन् ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...