काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन् ।
थापाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो कार्यक्रम समावेश गरेको बताएका हुन् ।
“संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ। वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको छ,” उनले भने ।
उनले सरकारले ल्याएको जनविरोधी कार्यक्रमलाई सफल हुन नदिने पनि बताएका छन् । चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरुभूमिकरण गर्न उद्धत प्रयासलाई विगतमा पनि पटक–पटक रोकेको स्मरण गर्दै पुनः यो पटक सरकारको निर्णय रोकेरै छाड्ने बताए ।
“यो ‘नीतिगत भ्रष्टाचार हो’।आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनःछर्लङ्ग भएको छ,” थापाले भने, “चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरुभूमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक–पटक रोकेको हो। यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।”