काठमाडौं । सभापति अग्निप्रसाद सापकोटाले नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्न र गराउनु राज्यको सर्वोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य भएको समेत उल्लेख गरेका छन् ।
“हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कोतिर कोभिड–१९ महामारीबाट आक्रान्त छौँ,” सापकोटाले भने,“यस विषम् परिस्थितिमा अझ जिम्मेवारीवोधका साथ अगाडि बढ्नु पर्ने आवश्यकता पैदा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको छ ।”
सभामुख सापकोटाले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भएमात्र यसको औचित्य स्थापित हुने उल्लेख गरेका छन् ।