कोरोना संक्रमणबाट काभ्रेमा १३ को मृत्यु : १२ सय संक्रमित

151

काभ्रेपलाञ्चोक । काभ्रेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका घर भइ बनेपा बस्दै आएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा गए राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दमको समस्याबाट पीडित उनलाई गत मंगलबार अस्पताल भर्ना गरिएको र उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी कोरोना संक्रमणबाट गत बिहीबार बनेपाका ७० र ५० वर्षीय दुई पुरुषको मृत्यु भएको थियो । दुवै जना मधुमेहका रोगी थिए । ५० वर्षीय पुरुष विगत एक महिनादेखि अस्पतालमा उपचाररत रहेको थियो भने ७० वर्षीय पुरुषको डायलासिसअघि कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले जनाएको छ । पचास वर्षीय मृतकका भाइको पनि १० दिनअघि कोरोना संक्रमणबाट नै मृत्यु भएको थियो ।

यस्तै, बेथानचोक गाउँपालिकाका ७५ वर्षीय कोरोना संक्रमित एक वृद्धाको उपचारको क्रममा गत बुधबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । अहिलेसम्म कोरोना संक्रमणबाट काभ्रेपलाञ्चोकमा १३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये आठ पुरुष र पाँच महिला छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या एक हजार २ सय ५ पुगेको छ । तीमध्ये ४ सय ४६ महिला र ७ सय ५९ पुरुष रहेका छन् ।

कूल सक्रिय संक्रमितमध्ये ३७ प्रतिशत अर्थात् १ सय ९५ बनेपा नगरभित्रका मात्रै छन् । यस्तै, कूल सक्रिय संक्रमितमध्ये शुक्रबारसम्म सदरमुकाम धुलिखेलमा ३३ प्रतिशत छन् । यसैगरी, पनौतीमा ५०, पाँचखालमा ३२, नमोबुद्धमा ३६, मण्डनदेउपुरमा २७, भुम्लु गाउँपालिकमा दुई र रोशीमा ११ जना संक्रमित छन् ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँच गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल, खानीखोला र महाभारत गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम संक्रमण भुम्लु गाउँपालिकामा दुई जना रहेका छन् । कूल संक्रमितमध्ये ६३ प्रतिशत पुरुष रहेको पोष्टले जनाएको छ । अहिलेसम्म २ सय २८ महिला तथा ४ सय २५ पुरुष गरी कूल ६ सय ५३ जना उपचारपछि निको भएर घर फर्किसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले जानकारी दिए ।

उनका अनुसार अधिकांश संक्रमित ४५ वर्ष नाघेका तथ्याङ्कले देखाएको छ । पोष्टका अनुसार हाल सक्रिय संक्रमितमध्ये ३७ महिला र ८७ पुरुष गरी कूल १ सय २४ जना अस्पतालको आइसोलेसनमा तथा १ सय ७३ महिला र २ सय ४३ पुरुष गरी कूल ४ सय १६ जना होम आइसोलेसनमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...