काठमाडौं । नेकपा एमालेका झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार साढे ४ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ ।
खनाल–नेपाल समूहका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई बिहीबार साढे ४ बजेसम्मको समय दिएको जानकारी दिएका छन् । त्यतिबेलासम्म ओलीले आफूहरुको माग पूरा गर्ने प्रतिवद्धता नजनाए सांसद सदस्यताबाट राजीनामा गर्ने उनले जानकारी दिएका छन् ।
“हामी नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भनेर भनिरहेका छौं । अब हाम्रा वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीबीच वार्ता हुँदैछ । वार्ता हुनु सकारात्मक हो,” रावलले भने, “तर, हाम्रा यी माग पूरा भएनन् भने साढे ४ बजेपछि हामी राजीनामा दिन्छौं ।”
नेपाल–खनाल समूहले २०७५ जेठ २ गतेको पार्टी संगठन ब्युँत्याउनका लागि आज साँझ ४ बजेसम्मको समय सीमा तोकेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलेको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकले नेपालसहितका ४ नेतामाथि कारबाही फुकुवा गर्ने निर्णयपछि बसेको नेपाल निकट स्थायी कमिटीको बैठकले सो समय तोकेको हो ।
“विभिन्न स्रोतहरुबाट जेठ २ मा फर्किने सन्देशहरु आएका छन् । तर यो झुक्याउनका लागि पनि हुनसक्छ । यसको प्रमाणिकता खोजेका छौं,” घनश्याम भूसालले भने, “यस विषयमा औपचारिक र सामूहिक छलफलमा यो विषय आउनु पर्छ ।”