धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, घाइतेको हेलिकोप्टरमार्फत उद्धार

16
  • शङ्कर श्रेष्ठ

धादिङ, ४ मङ्सिर । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ बोराङ कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

गएराति करिब २ बजे बतासे फेदीबाट बोराङतर्फ उकालो चढ्दै गरेको बा.प्र. ०२०३३ च ७१६९ नम्बरको बोलेरो अनियन्त्रित भइ करिब चार सय मिटर तल खसेको हो । दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका रुबीभ्याली–४ बोराङका ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, ३३ वर्षीया मिजोङ तामाङ र ४० वर्षीय चेरोङ तामाङ तथा बोलेरो चालक खनियाँबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–११ का २५ वर्षीय ललित बोम्जन, १४ वर्षीय कमल घले र २० वर्षीय बिमल तामाङलाई धादिङ अस्पताल ल्याइँदै गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो ।

बतासे दोभानमा एकादशी मेलाको पूजा गरेर लापातर्फ फर्किने क्रममा दुर्घटना भएको हो । सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि धादिङ अस्पताल ल्याइँदै छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...