विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

10

धनुषा, ४ मङ्सिर । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।

मन्त्री लम्सालले बिहीबार धनुषा निर्वाचन क्षेत्र नं ४ अन्तर्गत ढल्केबरको पोखरिया, इच्छापुर, नक्टाझिझ, रमदैया–सिर्सिया पुल तथा अन्दुपट्टी–कटरैत पुललगायतका क्षेत्रको निरीक्षण गर्नुभएको हो ।

अनुगमनका क्रममा उहाँले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार आयोजनाको निर्माण अवस्था, प्रगति र स्थानीय आवश्यकताबारे जानकारी लिनुभएको थियो । उहाँले लामो समयदेखि अधुरा रहेका र निर्माणमा ढिलाइ भएका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित प्राविधिक तथा प्रशासनिक निकायलाई निर्देशन दिनुभयो ।

विकास आयोजना कागजमा मात्र सीमित नभइ नागरिकले प्रत्यक्ष लाभ पाउनेगरी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उहाँले निर्माणको गुणस्तर र निर्धारित समयसीमामा सम्झौता नगर्न आग्रह गर्नुभयो । स्थानीय आवश्यकता र जनताको मागअनुसार योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।

यसै क्रममा मन्त्री लम्सालले जनकपुरधामको विकास, सौन्दर्यीकरण तथा धार्मिक पर्यटन प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । जनकपुरधामलाई व्यवस्थित, आकर्षक र अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले जनकपुरधामस्थित मणिमण्डपको अवलोकन गरी त्यसको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका सम्भावनाबारे जानकारी लिनुभयो । मणिमण्डपलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै मन्त्री लम्सालले यसको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी, रामजानकी स्टेडियमको निरीक्षण गर्दै उहाँले खेलकुद पूर्वाधारको विकास र स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताउनुभयो । स्टेडियमलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन आवश्यक पहल गरिने उहाँको भनाइ थियो ।

मधेस प्रदेशको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री लम्सालले सडक, पुल, भवन तथा खानेपानीलगायत पूर्वाधार निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको बताउनुभयो । अधुरा आयोजना सम्पन्न गर्ने र नयाँ योजना आवश्यकताका आधारमा अघि बढाउने सरकारको प्राथमिकता रहेको उहाँले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...