छठ पर्व सामूहिक एकता, आस्था र मेलमिलापको पर्व हो : संस्कृतिविद् राकेश [भिडिओ]

15

काठमाडौँ, २८ कात्तिक । संस्कृतिविद् राम दयाल राकेशले छठ पर्व तराई–मधेसको मौलिक पहिचान बोकेको महान् पर्व भएको बताउनुभएको छ । उहाँले छठ पर्व सूर्य र छठी माताको पूजा आराधना गरिने धार्मिक पर्व मात्र नभइ सामूहिक एकता, सद्‌भाव र मेलमिलापको प्रतीकसमेत भएको बताउनुभयो ।

नेपाल न्युज बैङ्कसँगको कुराकानीमा संस्कृतिविद् राकेशले अन्य पर्व पारिवारिक तथा व्यक्तिगत रूपमा मनाइने भए पनि छठ सामूहिक रूपमा मनाइने विशेष पर्व भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “छठ धेरै जटिल र कठिन एउटा पर्व हो । तराई–मधेसको एउटा ठुलो महान् पर्व हो, जसमा सूर्यको पूजा गरिन्छ । छठीमाईको पूजा गरिन्छ र त्यसमा मानिसहरूले भाकल गरेका हुन्छन् । यो सामूहिक पर्व हो, अरू सबै पारिवारिक पर्व हुन्, वैयक्तिक पर्व हुन् तर छठ सामूहिक पर्व हो । एउटै पोखरीमा गएर, एउटै नदीको किनारमा गएर त्यहाँ भएका सबै मानिसहरू आ–आफ्नो ठाउँ निर्धारित गरेर पूजा गर्छन् ।”

उहाँका अनुसार चार दिनसम्म मनाइने छठ पर्वमा षष्ठी अर्थात् सूर्य षष्ठीको दिन विशेष महत्त्व हुन्छ । यस दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गर्छन् ।

राकेशले छठमा सूर्यलाई प्रत्यक्ष देवताका रूपमा पूजा गरिने बताउनुभयो । अन्य देवतालाई आँखाले देख्न नसकिने भए पनि सूर्यलाई प्रत्यक्ष देख्न सकिने भएकाले सूर्यको उपासनाको विशेष धार्मिक महत्त्व रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सूर्य भनेको संसारको देवता हो, प्रत्यक्ष देवता हो। अरू देवतालाई तपाईंले आँखाले हेर्न सक्नुहुन्न, देख्न सक्नुहुन्न । तर, सूर्यलाई त हामी देख्छौँ नि । बिहान पनि देख्छौँ, बेलुका पनि देख्छौँ । त्यो प्रत्यक्ष देवता हो सूर्य र उनले आशीर्वाद दिन्छन्, मानिसलाई राम्रो स्वास्थ्य दिन्छन्, सन्तान दिन्छन् र सन्तानको भविष्य उज्ज्वल हुन्छ ।”

उहाँका अनुसार छठ पर्वमा परिवारको सुख, सन्तानको स्वास्थ्य र उज्ज्वल भविष्यको कामना गर्दै व्रत बस्ने परम्परा छ । यस पर्वमा महिलाहरू मुख्य व्रतालु हुने गरे पनि पूजा सामग्री व्यवस्थापनदेखि घाटसम्म पुर्‍याउने र फर्काउने काममा पुरुषहरूको पनि उत्तिकै सहयोग रहने गरेको उहाँले बताउनुभयो ।

राकेशले छठ पर्वको व्रत निकै कठिन हुने उल्लेख गर्दै व्रतालुहरूले लामो समयसम्म अन्नपानी ग्रहण नगरी उपवास बस्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “व्रतालुले २४ घन्टासम्म अन्न, पानी केही ग्रहण नगरी त्यस्तो कठिन र जटिल प्रक्रियाबाट छठ पर्व मनाउने गर्छन् । महिलाहरूले हरेक वर्ष त्यो गर्ने संकल्प गरेका हुन्छन् । त्यसमा परिवारको भलो होस्, देशको भलो होस्, संसारको भलो होस् भन्ने भावना र मनोकामना हुन्छ ।”

छठमा व्रतालुलाई विशेष सम्मान गर्ने परम्परा रहेको पनि उहाँले बताउनुभयो । व्रत पूरा गरेका व्रतालुलाई घाटमै परिवार तथा अन्य मानिसहरूले ढोग्ने र उनीहरूबाट टीका तथा आशीर्वाद लिने चलन रहेको उहाँको भनाइ छ ।

उहाँले छठमा लगाइने टीका र तिहारको भाइटीकाबिच भिन्नता रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार छठमा सबैले एकअर्कालाई टीका लगाउने नभइई व्रत पूरा गरेका व्रतालुले मात्र अरूलाई टीका लगाएर आशीर्वाद दिने परम्परा छ ।

“त्यो भाइटीका होइन । व्रत गर्ने व्यक्तिलाई सबैले ढोग्छन् अनि उसले टीका लगाइदिन्छ आशीर्वादको लागि त्यो छठमै लगाउने गरिन्छ । व्रतालुले यति कठिन व्रत सम्पन्न गरेर शक्ति प्राप्त गरेको हुन्छ भन्ने श्रद्धा र विश्वासले परिवारका मानिसहरूले उनलाई ढोग्ने गर्छन्,” उहाँले भन्नुभयो ।

राकेशले छठ पर्वमा सूर्यको प्रकाशलाई ऊर्जा र शक्तिको स्रोतका रूपमा लिने धार्मिक विश्वास रहेको पनि बताउनुभयो । जाडो मौसममा समेत व्रतालुहरू कम्मरसम्म पानीमा उभिएर सूर्यलाई अर्घ्य दिने परम्पराले उनीहरूको आस्था र समर्पण झल्काउने उहाँको भनाइ छ ।

उहाँले छठ पर्वले परिवारको सुख, सन्तानको कल्याणसँगै समाजमा आपसी सद्‌भाव र मेलमिलापको भावना विकास गर्ने बताउनुभयो । कठिन विधि र प्रक्रियाका बाबजुद मानिसहरू खुसीसाथ छठ मनाउने गरेको उल्लेख गर्दै उहाँले यस पर्वको मौलिकता र परम्परा पुस्तौँदेखि चल्दै आएको बताउनुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...