काठमाडौँ, १८ असोज । नेपाली काङ्ग्रेसकी सहमहामन्त्री एवम् १५औँ महाधिवेशनअन्तर्गत अतिथि स्वागत समितिकी संयोजक डा.डिला सङ्ग्रौलाले पार्टीमा कुनै पक्ष–विपक्ष नरहेको र गगन थापा निर्विरोध सभापति रहेको बताउनुभएको छ ।
महाधिवेशन उद्घाटनअघि सञ्चारकर्मीसँग कुरा गर्दै सङ्ग्रौलाले नेपाली काङ्ग्रेसको नेतृत्व गगन थापाले गर्ने कुरा स्पष्ट रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काङ्ग्रेसमा यो पक्ष–विपक्ष छैन, काङ्ग्रेस भनेको गगन थापाको नेतृत्वको काङ्ग्रेस हो । नेपाली काङ्ग्रेसको विधान–संविधानले अर्को काङ्ग्रेस चिन्दैन । निवर्तमान सभापति शेर बहादुर देउवालाई हामीले पत्राचार गरेर हार्दिक आमन्त्रण गरेका छौँ । उहाँलाई बोलाउनु हाम्रो दायित्व र जिम्मेवारी हो । अर्को काङ्ग्रेस नै छैन, काङ्ग्रेस यही हो, गगन थापा निर्विरोध हुनुहुन्छ ।
सङ्ग्रौलाले १५औँ महाधिवेशनलाई रूपान्तरण, परिवर्तन र नयाँ यात्राको सुरुवातका रूपमा आफूले हेरेको बताउनुभयो । उहाँले ७७ वटै जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइसकेको र महाधिवेशनमा उत्साहपूर्ण सहभागिता देखिएको बताउनुभयो ।
‘१५औँ महाधिवेशन रूपान्तरण, परिवर्तन र नयाँ यात्राको रूपमा मैले हेरेको छु । ७७ वटै जिल्लाबाट साथीहरू काठमाडौँ आइसक्नुभएको छ । सबैले यो इन्ट्रीका लागि नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय सानेपा हेर्दा चाडपर्व आएजस्तै उत्साह देखेको छु,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार महाधिवेशनमा विदेशसहित करिब ७ हजार प्रतिनिधि सहभागी हुँदै छन् । महाधिवेशनको उद्घाटन पार्टी सभापति गगनकुमार थापाले गर्नुहुने छ ।
सङ्ग्रौलाले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई महाधिवेशनमा अतिथिका रूपमा आमन्त्रण गरिएको जानकारी दिनुभयो ।
‘आज हाम्रो अतिथि गेस्टको रूपमा सत्तापक्षका नेता अथवा रास्वपाका अध्यक्ष रवि लामिछाने शुभकामना दिन आउँदै हुनुहुन्छ । त्यस्तै, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी र अन्य साना दलहरूबाट पनि आउने क्रम जारी छ । सोसलिस्ट इन्टरनेसनलबाट पनि हामीले आमन्त्रण गरेका छौँ,’ उहाँले भन्नुभयो ।
महाधिवेशनमा सहभागी विदेशी पाहुना तथा अतिथिहरूलाई गेस्ट रुममा स्वागत गरी खुलामञ्चमा हुने उद्घाटन सत्रमा लगिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।