बाँके, १३ असोज । नेपालगञ्जमा ठुलो रकम खर्च गरेर निर्माण गरिएको नगर सभाहल (सिटी हल) सञ्चालनको पर्खाइमा रहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा सङ्घीय सरकारले निर्माण गरेको सुविधा सम्पन्न सिटी हलको २०८१ फागुन १३ गत उद्घाटन भए पनि हालसम्म सञ्चालन हुन सकेको छैन ।
३३ करोड ३४ लाख ७५ हजार ३७० रुपैयाँ लागतमा निर्माण भएको सिटी हल उद्घाटन हुँदा यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको थियो । हल सञ्चालन हुन नसक्दा स्थानीयवासी निराश बन्न पुगेका छन् ।
सिटी हलमा दैनिकजसो कार्यक्रम हुँदा स्वाभाविक रुपमा चहलपहल बढ्ने भएपनि हाल कुनै गतिविधि नहुँदा सुनसान रहेको स्थानीयवासी समेत रहनुभएका नेपालगञ्ज–१४ का पूर्ववडाध्यक्ष ओमकार मिश्राले बताउनुभयो ।
उहाँले सञ्चालनको जिम्मा लिएको नेपालगन्ज उपमहानगरपालिकाले नगर सभाहल सञ्चालनका लागि विशेष चासोका साथ सहुलियत दर कायम गर्नुपर्नेमा जोड दिनुभयो । कुल ७९५ जना अट्ने क्षमताको हल सञ्चालनमा नआउँदा आफूहरु निराश भएको मिश्राको भनाइ छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राज्यको ठुलो रकम खर्च भएर बनेको सिटी हललाई दीर्घकालीन रुपमा सञ्चालन गर्न स्थानीय सरकारले चासो दिनुपर्ने बताउनुभयो ।
“ठुलाठुला सरकारी कार्यक्रम होटलमा हुने गरेका छन्, उता सरकारी नगर सभाहल बन्द अवस्थामा छ”, उहाँले भन्नुभयो, “नगर सभाहल सञ्चालनका लागि उपमहानगरपालिका नेतृत्वले विशेष चासो दिन जरुरी छ ।”
नेपालगुज सिटी हलमा ठुलो हलसहित अन्य चार वटा साना हल, प्रशासनिक कक्ष, पार्किङलगायत पूर्वाधार निर्माण गरिएको छ । सभाहल निर्माण सम्पन्न भएपछि नेपालगन्जमा ठूलो क्षमताका कार्यक्रम गर्न सहज हुने विश्वास गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सहरभन्दा टाढा भएकाले सिटी हलमा कुनै गतिविधि सञ्चालन हुन नसकेको बताउनुभयो । सिटी हल निर्माण भएपछि दुईपटक नगरसभा र दुईपटक राजनीतिक दलका कार्यक्रमबाहेक अरू गतिविधि हुन नसकेको उहाँलले जानकारी दिनुभयो ।
“सिटी हल सञ्चालनको जिम्मा दिन बोलपत्र खोल्यौँ, तर ठाउँका कारणले होला कुनै प्रस्ताव नपरेपछि अहिले नगरपालिकाले नै मान्छे राखेर रेखदेख गर्दै आएको छ”, प्रवक्ता रिजालले भन्नुभयो, “नगरको केन्द्रबाट टाढा भएकाले पनि कार्यक्रम हुन सकेनन् । अहिले कर्मचारीले भवन कुर्ने काम भएको छ ।”