खाँदबारी, ८ असोज । उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको भोटखोला गाउँपालिका–३ हुङहुङमा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो ।
उत्तर–दक्षिण सडक आयोजना कार्यालयका प्रमुख एवम् इन्जिनियर रामबहादुर गुरुङले पहिरोका कारण सडकमा सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको बताउँदै सडक खुलाउने प्रयासका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । निरन्तरको वर्षाका कारण तत्काल पहिरो पन्छाउन कठिनाइ भइरहेको उहाँको भनाइ छ ।
हुङहुङमा पहिरो खसेपछि आज बिहानदेखि भोटखोलाबाट मकालु आउने जाने यातायात सेवा अवरुद्ध भएका छन् । माथिल्लो क्षेत्रमा भारी वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको सडक कार्यालयले जनाएको छ । ठाउँठाउँमा ठुलो पहिरो गएकाले अहिले सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नभएको सडक इन्जिनियर गुरुङले बताउनुभयो । पहिरो खसेपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी, मकालु चिचिला आउने सवारीसाधन वारपार हुन सकेका छैनन् ।