काठमाडौँ, १२ असोज । नेकपा (एमाले)का सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले असोज १० गते राति निवासबाट पक्राउ गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले जबरालाई पक्राउ गर्ने क्रममा सरकारले ‘गुण्डागर्दी’ र ‘अपहरण शैली’ अपनाएको आरोप लगाउनुभयो । उहाँले सरकारको उक्त कदम कानुनी राज्य र विधिको शासनविपरीत भएको दाबी गर्नुभयो ।
महरले लोकतन्त्रमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने भन्दै कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
‘कानुनभन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन। यदि कसैले कानुन हातमा लिने काम गरेको छ भने जोसुकैलाई पनि अभियोग लगाएर तथ्य र प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो ।
सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा आफूहरूको विरोध गर्ने व्यक्तिलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने गरेको आरोप पनि महरले लगाउनुभयो । उहाँले सरकार गठन भएदेखि नै यस्ता घटना दोहोरिँदै आएको दाबी गर्नुभयो ।
महरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएका घटनाको समेत उदाहरण दिँदै सरकारको कार्यशैलीप्रति आलोचना गर्नुभयो । नागरिकको मान–प्रतिष्ठा, व्यक्तिगत अधिकार र मानवअधिकारको सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जबरालाई ‘जेनजी’बाट सुरक्षा खतरा रहेको भनिएको विषयप्रति पनि महरले प्रश्न उठाउनुभयो । सुरक्षा खतरा दिने भनिएका व्यक्तिमाथि कारबाही गर्नुको सट्टा खतरा रहेको भनिएका व्यक्तिलाई नै पक्राउ गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
‘जो थ्रेट दिने मान्छे हुन्, तिनलाई सुरक्षा दिने र जसलाई थ्रेट दिइएको छ, उसलाई ल्याएर पक्राउ गर्ने ?’ उहाँले प्रश्न गर्नुभयो ।
पूर्वप्रधानन्यायाधीशजस्तो प्रतिष्ठित व्यक्तित्वलाई पक्राउ गर्ने क्रममा सरकारले उहाँको मान–प्रतिष्ठा र मानवअधिकारको समेत ख्याल नगरेको महरको आरोप थियो ।
जेनजी आन्दोलनको नाममा युवाहरूलाई बदनाम गर्ने काम नगर्न सरकारलाई आग्रह गर्दै महरले सुरक्षा खतरा दिने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्नसमेत माग गर्नुभयो ।