अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध

11

काठमाडौँ, ११ असोज । अविरल वर्षाका कारण पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

काभ्रेको धुलिखेल नगरपालिका–८, जिपलाइनस्थित अरनिको राजमार्ग सडकखण्डमा आज बिहान करिब ८ः५५ बजे सडक माथिबाट ढुङ्गा–माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहिरोका कारण उक्त सडकखण्ड भएर काठमाडौँ आवतजावत गर्ने यातायातका साधन रोकिएका छन् ।

सडक अवरुद्ध भएपछि काठमाडौंँबाट काभ्रेको कोसीपारी क्षेत्र, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुरलगायत पूर्वी जिल्लातर्फ जाने सबै सवारीसाधन प्रभावित भएका छन् ।

यसअघि नै बिपी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको अवस्थामा अरनिको राजमार्ग पनि बन्द भएपछि पूर्वी जिल्लातर्फ जाने यातायातका लागि थप समस्या सिर्जना भएको छ ।

बिपी राजमार्ग अवरुद्ध भएपछि दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङलगायत पूर्वी जिल्लातर्फ जाने सवारीसाधन अरनिको राजमार्ग हुँदै आवतजावत गर्दै आएका थिए । तर, अरनिको राजमार्गसमेत पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौँसँग पूर्वी जिल्लाको सडक यातायात सम्पर्क थप प्रभावित भएको छ ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि लगातारको वर्षाका कारण थप पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि विभिन्न स्थानबाट आएका तथा पूर्वतर्फ जान लागेका सवारीसाधन बाटोमै रोकिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...