सुनसरी, १० असोज । इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको शतिसाले फुटबल क्लबले जितेको छ ।
इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा शतिसालेले उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । शतिसालेका लागि विनोद राईले पहिलो हाफको ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा विकास परियार र साजन बर्देवाले गोल गर्दै जित सुनिश्चित गरेका हुन् ।
उपाधिसँगै शतिसालेले ट्रफीसहित नगद एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता फ्युजन फुटबल क्लबले ट्रफीसहित नगद ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको आयोजक तालतलैया फुटबल क्लबका सचिव रोशन भुजेलले जानकारी दिनुभयो । आजको खेलमा फ्युजन फुटबल क्लबका निश्चल मोक्तान म्यान अफ द म्याच घोषित भए । उनले नगद रु दुई हजार र ट्रफी प्राप्त गरे ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलकिपर शतिसालेका विपुल मगर, उत्कृष्ट डिफेन्डर शतिसालेकै सञ्जय श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर विकास परियार, उत्कृष्ट फरवार्ड विनोद राई, राइजिङ प्लेयर तालतलैया फुटबल क्लबका आरोश चौधरी र उत्कृष्ट प्रशिक्षक शतिसालेका शुरेन मगर घोषित भए । उनीहरूलाई जनही तीन–तीन हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको सचिव भुजेलले बताउनुभयो ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी फ्युजन फुटबल क्लबका विशाल मगर घोषित भए । उनलाई नगद चार हजार ५०० रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो । यही असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टोलीको सहभागिता थियो । उहाँहरुलाई कोसी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।