ढुङ्गासहित आएको पहिरोले बालकको मृत्यु, बुबा र आमा घाइते

9

मुगु, ९ साउन । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ४ बजेतिर पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार बिहान करिब ४ बजे पुलु बजारस्थित पेमा लामाको घरमा भाडामा होटल व्यवसाय सञ्चालन गर्दै बसिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्प निवासी ३२ वर्षीय जगनाथ बडुवाल, उहाँकी २७ वर्षीया श्रीमती सिर्जना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो ।

घटनामा जगनाथ र सिर्जनालाई सामान्य चोट लागेको छ । उनीहरू आफैँ उपचारका लागि पुलु स्वास्थ्य चौकी पुगेका छन् र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा च्यापिएका तीन वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट प्रहरी नायब निरीक्षक वीर बहादुर चन्दको कमाण्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोली र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्‍याएका थिए । प्रारम्भिक अवस्थामा उनको अवस्था मध्यम रहेको बताइएको थियो ।

तर, बिहान करिब ५ः४५ बजे उपचारकै क्रममा चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

पहिरोले उनीहरू बस्दै आएको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । साथै घटनास्थल आसपासका अन्य ८ वटा घर पनि उच्च जोखिममा परेका छन् । जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

अधिकांशलाई पुलु बजारस्थित आफन्तको घरमा राखिएको छ भने सातआठ जनालाई पुलु स्वास्थ्य चौकीमा अस्थायी रूपमा आश्रय दिइएको छ ।

घटनास्थल प्रहरी चौकी डोल्फु पुलुबाट करिब ३०० मिटर पश्चिममा पर्छ । घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।

Share This:
सम्बन्धित खबर
Loading...