काठमाडौँ, १ साउन । प्रहरी महानिरीक्षक (आइजिपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान तथा प्रहरी संगठनबिचको साझेदारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसिओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले विश्वभरका प्रहरी सङ्गठनबिच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य विस्तार, प्रविधिको उपयोग, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि तथा अन्तरदेशीय अपराध नियन्त्रणका उपायबारे व्यापक छलफल भएको जानकारी दिनुभयो ।
आइजिपी कार्कीले भन्नुभयो, “हामीले अन्तर्राष्ट्रिय सहयोग तथा समन्वयको आवश्यकता महसुस गरिरहेका छौँ, र यो आवश्यकता अन्य मुलुकहरूले पनि महसुस गरेका छन् । विश्वका प्रहरी सङ्गठनबिच सूचना आदान–प्रदान, प्रविधिको उपयोग, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि तथा अन्तरदेशीय अपराध नियन्त्रणका लागि साझेदारीलाई थप सुदृढ बनाउने विषयमा हामीले छलफल गरेका थियौँ ।”
उहाँले नेपालले जिम्मेवार साझेदारका रूपमा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोग, अनुसन्धान क्षमता विकास, समुदाय–प्रहरी साझेदारी तथा अन्तर्राष्ट्रिय निकायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि सम्मेलनमा दोहोर्याएको बताउनुभयो ।
कार्कीका अनुसार युएन प्रहरी प्रमुखहरूको शिखर सम्मेलन नेपाल प्रहरीका लागि विश्वका उत्कृष्ट अभ्यास सिक्ने, अनुभव आदान–प्रदान गर्ने तथा भावी सहकार्यका नयाँ अवसर पहिचान गर्ने महत्त्वपूर्ण मञ्च बनेको छ। प्राप्त ज्ञान, सीप र अनुभवलाई नेपालको सार्वजनिक सुरक्षा, शान्ति र अमनचयनलाई थप प्रभावकारी बनाउन उपयोग गरिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो सम्मेलनले नेपाल प्रहरीलाई विश्वव्यापी उत्कृष्ट अभ्यास सिक्ने, अनुभव आदान–प्रदान गर्ने र भावी सहकार्यका नयाँ अवसर पहिचान गर्ने महत्वपूर्ण फोरम प्रदान गरेको छ।”
आइजिपी कार्कीले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता बढाउने विषयमा पनि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा छलफल गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल ’फम्र्ड पुलिस युनिट (एफपियू)’ को लेभल–३ मा पुगिसकेको छ भने नेपाल प्रहरी लेभल–२ मा रहेको छ । आवश्यक स्रोत–साधन व्यवस्थापन गर्न सके नेपाल प्रहरी पनि लेभल–३ मा पुग्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनमा सहभागिता बढाउने विषयलाई हामीले प्राथमिकताका साथ उठाएका छौँ। आवश्यक स्रोत–साधन व्यवस्थापन गर्न सके नेपाल प्रहरी पनि लेभल–३ मा पुग्ने सम्भावना छ।”