काठमाडौँ, ३२ असार । मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया गरिएको छ ।
नेकपा (एमाले)का पूर्वउपाध्यक्ष शाक्यको आज बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरिएको हो । हाल नेत्री शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
अस्पतालका मुटुरोग विभागका प्रमुख डा अशोक अधिकारीका अनुसार नेत्री शाक्यलाई बिहान छाती दुखेका कारण अस्पताल ल्याइएकामा परीक्षणबाट ‘हार्ट अट्याक (एक्युट मायोकोर्डियल इन्फरक्सन) भएकाले ‘एन्जियोप्लाष्टी’ गरिएको हो ।
शल्यक्रियामा डा.अधिकारी, डा.प्रबिन्द्र महर्जन, डा.आनन्द जिसीको टोली संलग्न थियो ।