मानसिक स्वास्थ्य परिषद् गठन गर्न रास्वपा सांसद खनालको माग

16

काठमाडौँ, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले पछिल्लो समय देशमा बढिरहेका आत्मदाहका घटनाले गम्भीर चिन्ता पैदा गरेको भन्दै मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राखेर नयाँ नीति निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले आत्मदाहका घटनाले मानसिक स्वास्थ्यको अवस्था र त्यससँग सम्बन्धित सरकारी संयन्त्रबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो ।

उहाँले विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय विकास भए पनि मानसिक स्वास्थ्यको क्षेत्रमा अपेक्षाअनुसार काम हुन नसकेको उल्लेख गर्दै अहिले बढ्दो डिप्रेसन, चिन्ता र आत्मदाहका घटनाले समाजलाई थप संवेदनशील बनाएको बताउनुभयो ।

“पछिल्लो समय आत्मदाहका अप्रिय घटना घटिरहेका छन् । यसले मलाई गहिरो चिन्तित बनाएको छ । अब हामीले मानसिक स्वास्थ्यको विषयमा गहिरो चिन्तन र व्यापक छलफल गर्ने समय आएको छ,” उहाँले भन्नुभयो ।

सांसद खनालले मानसिक स्वास्थ्य सेवा अझै पनि सीमित, असमान र राजधानी केन्द्रित रहेको टिप्पणी गर्दै यसले देशभरका नागरिकलाई सहज रूपमा सेवा पुग्न नसकेको बताउनुभयो ।

उहाँका अनुसार मानसिक स्वास्थ्य केवल रोगसँग सम्बन्धित विषय मात्र नभइ जैविक, मनोवैज्ञानिक र सामाजिक पक्षको सन्तुलनसँग जोडिएको विषय भएकाले यसलाई समग्र दृष्टिकोणबाट सम्बोधन गर्न आवश्यक छ ।

मानसिक स्वास्थ्यसम्बन्धी नीतिमा समयानुकूल परिमार्जन गर्दै नयाँ नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सरकारले यस क्षेत्रमा संस्थागत सुधार अघि बढाउनुपर्ने बताउनुभयो ।

सांसद खनालले मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन ‘मेन्टल हेल्थ काउन्सिल’ स्थापना गर्न सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले सरकारसँगै प्रतिपक्षी दलहरूलाई पनि मानसिक स्वास्थ्यलाई साझा राष्ट्रिय एजेन्डाका रूपमा लिएर आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न सहयोग गर्न आग्रह गर्नुभयो ।

“नेपालमा मानसिक स्वास्थ्य परिषद् गठन गरियोस् । योग्य र दक्ष मनोवैज्ञानिकको सहभागितामा मानसिक स्वास्थ्य सेवाको प्रभावकारी अनुगमन र व्यवस्थापन हुने संयन्त्र निर्माण गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...