खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोर्ट्स टुरिजम हब बन्नसक्छ : दीपक थापा

8
  • मनिषा बस्नेत

काठमाडौँ, ३० असार । खेल क्षेत्रका जानकार एवम् अध्येता दिपक थापाले नेपाललाई खेलकुद पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनाउन सकिने बताउनुभएको छ ।

नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले प्राकृतिक स्रोत, भौगोलिक अवस्था र पर्यटनको सम्भावनाका कारण नेपाल खेलकुद पर्यटनका लागि उपयुक्त देश भएको बताउनुभयो ।

नेपाल ब्याडमिन्टन संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका थापाले नेपाललाई खेलकुद पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनाउन सकिने बताउनुभयो ।

थापाले नेपालमा खेलकुदलाई प्राथमिकतामा राख्न नसकिएको भन्दै खेलकुदलाई मनोरञ्जन मात्र नभइ राष्ट्रको पहिचान, स्वास्थ्य र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताउनुभयो ।

“खेलकुद सम्पन्न देशहरूमा प्राथमिकतामा पर्छ । हाम्रोजस्तो राष्ट्रमा पहिलो प्राथमिकता गाँस, बास र कपास हुन्छ । तर, यसको अर्थ खेलकुद आवश्यक छैन भन्ने होइन,” उहाँले भन्नुभयो, “नेपालमा ९० वर्षभन्दा अगाडिदेखि नै फुटबल, ब्याडमिन्टन र क्रिकेटका क्लबहरू स्थापना भइसकेका थिए । तर, अहिले पनि व्यावसायिक खेलकुदका लागि आवश्यक पूर्वाधार र प्राथमिकता पर्याप्त छैन ।”

उहाँले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि पूर्वाधार, सुरक्षा, होटल सुविधा र यातायात व्यवस्थापन महत्त्वपूर्ण हुने बताउनुभयो । अन्तर्राष्ट्रिय फेडेरेसनहरूले कुनै देशमा प्रतियोगिता दिने क्रममा त्यहाँको भौगोलिक अवस्था, खेल पूर्वाधार र आतिथ्य सेवाको मूल्याङ्कन गर्ने उहाँको भनाइ छ ।

“अन्तर्राष्ट्रिय खेल हुँदा खेलाडी मात्र आउँदैनन्, उनीहरूसँग आउने अफिसियल, परिवार र साथीहरू पनि आउँछन् । यसले पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुर्‍याउँछ,” उहाँले भन्नुभयो ।

थापाले खेलकुदले स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रसम्म चलायमान बनाउने बताउनुभयो । उहाँका अनुसार एउटा पर्यटक आउँदा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै मानिस आर्थिक गतिविधिमा जोडिन्छन् ।

उहाँले भन्नुभयो, “खेलाडी होटलमा बस्छन्, यातायात प्रयोग गर्छन्, खाना खान्छन्, किनमेल गर्छन् । यसले होटल, यातायात, व्यापार र स्थानीय उत्पादनको बजार विस्तार गर्छ ।”

उहाँले नेपालमा खेलकुद पर्यटनका लागि प्राकृतिक सम्भावना उच्च रहेको उल्लेख गर्नुभयो । उच्च हिमाली क्षेत्रका म्याराथन, साइकलिङ, स्की, र्‍याफ्टिङ, कायकिङलगायतका साहसिक खेलमार्फत नेपाल विश्वकै आकर्षक गन्तव्य बन्न सक्ने उहाँको भनाइ छ ।

“नेपाल प्रकृतिले बनाएको देश हो । पूर्वाधारमा हामी केही पछाडि छौँ होला, तर प्राकृतिक स्रोत र साहसिक पर्यटनमा नेपाल निकै अगाडि छ,” उहाँले भन्नुभयो ।

थापाले नेपालले अन्तर्राष्ट्रिय खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि कूटनीतिक निकाय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामग्री निर्मातासँग सहकार्य गर्नुपर्ने बताएका छन् । एक–दुई वर्ष अगाडिदेखि नै खेलकुद कार्यक्रमको क्यालेन्डर बनाएर प्रचार गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सकिने उहाँको भनाइ छ ।

खेलकुद पूर्वाधार निर्माणमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको थापाले बताउँछन् । उहाँले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमार्फत खेल मैदान, रङ्गशाला र प्रशिक्षण केन्द्र निर्माण गर्न सकिने सुझाव दिनुभयो ।

“निजी क्षेत्रले आफैँ जग्गा किनेर खेल पूर्वाधार बनाउन कठिन हुन्छ, किनभने लगानीको प्रतिफल आउन धेरै समय लाग्छ । सरकारले निश्चित समयका लागि जग्गा लिजमा दिने, कर सहुलियत दिने र लगानीमैत्री वातावरण बनाउने हो भने निजी क्षेत्र आउन सक्छ,” उहाँले भन्नुभयो ।

स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्र रहेका जग्गा र स्रोतलाई खेल पूर्वाधार विकासमा प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ । खेल पूर्वाधार बनेपछि स्थानीय रोजगारी, होटल व्यवसाय, स्थानीय उत्पादन र पर्यटन गतिविधि बढ्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एउटा स्टेडियम बन्नु भनेको एउटा खेल मैदान मात्र बन्नु होइन। त्यससँगै स्थानीय बजार, रोजगारी र नयाँ आर्थिक गतिविधि सुरु हुन्छ ।”

थापाले खेलकुदले देशको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने बताउनुभयो । विश्वका धेरै साना राष्ट्रहरू खेलकुदकै माध्यमबाट चिनिएको उदाहरण दिँदै उहाँले नेपालले पनि खेलकुदलाई राष्ट्र निर्माणको माध्यम बनाउनुपर्ने बताउनुभयो ।

“खेलाडीले देशको प्रतिनिधित्व गर्छ, एउटा खेलाडीले मेडल जित्दा देशको नाम विश्वभर पुग्छ । त्यसपछि प्रायोजन, लगानी र आर्थिक अवसरहरू बढ्छन्,” उहाँले भन्नुभयो ।

उहाँले विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विद्यालय, क्लब र राष्ट्रिय टोलीबिच समन्वय भए खेलाडी उत्पादनको वातावरण बन्ने उहाँको भनाइ छ ।

थापाले कर्पोरेट क्षेत्रलाई पनि सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुदमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । सरकारले सहुलियत दिने हो भने निजी क्षेत्र खेलकुद पूर्वाधारमा ठुलो लगानी गर्न तयार रहेको उहाँको भनाइ छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...