प्रहरीले घर पुर्‍याएपछि प्रसाईंको सरकारमाथि कडा अभिव्यक्ति : ‘यो सरकार नेपालीहरूको होइन’

8

काठमाडौँ, २८ असार । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौँ फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको छ ।

प्रसाईंले झापाबाट काठमाडौँ आएलगत्तै सुकुमवासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्थालगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनुभएको थियो । तर, विमानस्थलमा अवतरण गरेलगत्तै काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले उहाँलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले आफ्नै सवारीसाधनमार्फत उनलाई भक्तपुरस्थित निवास पुर्‍याएर छाडेको जनाएको छ ।

घर पुगेलगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाबारे सरकारको आलोचना गर्दै सर्वहारा वर्ग, घरबारविहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “सर्वहारा वर्ग, घरबारविहीन, जो सडकमा पुगेका छन् । यति मात्र होइन, शरीरमा पेट्रोल छर्काएर आत्मदाह गर्न थाले । जब घर बिग्रिन्छ, तब त्यो स्थिति आउँछ । देशको हालत यही भएको छ । देश भनेको हरेक परिवार मिलेर बनेको हो । आज त्यो परिवार कसैको पनि घरमा छैन । यो सुरुवात मात्रै हो ।”

प्रसाईंले पछिल्लो ३५ वर्षमा राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण तथा विभिन्न आर्थिक अनियमितता गरेको आरोपसमेत लगाउनुभयो । “३५ वर्षसम्म दलहरूले एकलौटी शासन गरे, भ्रष्टाचार गरे, शोषण गरे । लघुवित्त पनि उनीहरूले नै चलाए, सहकारी पनि उनीहरूले नै चलाए, तस्करहरूसँग पार्टनरसीप पनि उनीहरूले नै गरे । यही कारण जनताले साथ दिएर यो नयाँ सरकार ल्याएका हुन्,” उहाँले भन्नुभयो ।

उहाँले अहिलेको सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै सुकुमवासी बस्ती हटाउने कार्यप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । “यो नयाँ सरकारले के गर्यो भने जसको भोट हो, उसैको घर भत्काइदियो । जसले भोट दियो, उसैका घर भत्काएर पानीमा डुब्छ भनेर उठाएर लगे, फेरि अन्तिममा पानीमै डुबाएर छोडे सुकुमवासीहरूलाई,” उहाँले भन्नुभयो ।

सवारी साधनमा लाग्ने जरिवानाको विषय उठाउँदै प्रसाईंले नेपालमा पूर्वाधार विकासभन्दा दण्डात्मक व्यवस्था बढी भएको टिप्पणी गर्नुभयो । “विश्वका धेरै देशमा पहिले सडक बनाइन्छ, पूर्वाधार तयार गरिन्छ। त्यसपछि राम्रो सडक दिएका छौँ, अब नियम उल्लङ्घन गर्न पाइँदैन भनेर जरिवाना गरिन्छ । तर, नेपालमा न पूर्वाधार छ, न बाटो राम्रो छ । अहिले चाहिँ आवश्यकताभन्दा बढी जरिवाना लगाइएको छ, जसलाई जोसुकैले पनि थेग्न सक्दैन,” उहाँले भन्नुभयो ।

आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई सरकारले राहत तथा सहयोग उपलब्ध गराउने घोषणा गरेको प्रसँग उल्लेख गर्दै प्रसाईंले त्यसप्रति पनि प्रश्न उठाउनुभयो । “सरकारले अहिले गणेश नेपालीको परिवारलाई जागिर दिन्छौँ, क्षतिपूर्ति दिन्छौँ, बच्चा पढाइदिन्छौँ भनेर भन्छ । तर, बच्चाहरू पढाउनका लागि सबैले गणेश नेपाली नै हुनुपर्ने हो त ? नेपालीहरूले आत्मदाह गर्नुपर्ने हो त ? घरबारविहीनहरूले अब त्यही गर्नुपर्ने हो त ?” उहाँले प्रश्न गर्नुभयो ।

उहाँले देशमा दैनिक २२ देखि २५ जना मानिस झुन्डिएर ज्यान गुमाइरहेको दाबी गर्दै सरकारले त्यसतर्फ ध्यान नदिएको आरोप लगाउनुभयो । “किन यसतर्फ सरकारको आँखा पुग्दैन ? यो सरकार हाम्रो सरकार होइन, नेपालीहरूको सरकार होइन। आज नेपालीले खोलाको डिलमा समेत बास पाएनन् । भोको पेट, पानीमा भिजेको छ । जाडोमा त्यो बच्चाको अवस्था कस्तो होला ? कति हृदयविदारक कथा छ । यस्तो कथा अमेरिकाका निर्देशकहरूले भेट्टाए भने त्यसैमा फिल्म बनाएर ओस्कार पुरस्कार जित्न सक्थे,” उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...