ओखलेमा ‘लिफ्ट’ प्रविधिको खानेपानी योजना निर्माण

11

म्याग्दी, २० असार । बेनी नगरपालिका–१० ओखलेमा ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले फेदीको मुहानबाट तानेको पानीलाई डाडाँको टङ्कीमा पुर्‍याएर सबै घरमा वितरणको ब्यवस्था मिलाएको हो ।

योजनाबाट ओखले टोलका ३८ घरपरिवार लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । “यसअघि टोलका सबै घरमा निजी धारा थिएनन्, माथिल्लो टोलमा पानीको समस्या थियो,” उहाँले भन्नुभयो “खलखलेको मुहानको पानीलाई बस्तीको शिरानमा पुर्‍याएर सबै घरमा पाइपलाइनमार्फत पानी वितरण हुने ब्यवस्था मिलाइएको छ ।”

ओखलेका ५५ मध्य तल्लो टोलका १७ घर परिवार बाहेकले सार्वजनिक धारा र मुहानबाट व्यक्तिगत खर्चमा पाइप ल्याइ पलास्टीकको टङ्कीमा सङ्कलन गरेर खानेपानी जोहो गर्दै आएका थिए । आयोजनामार्फत घरघरमा पाइपलाइन र मिटर जडान गरिएको हो । उपभोक्ताले आफु अनुकुलका धारा बनाएका छन् ।

मुहानमा १० घनमिटर क्षमताको सङ्कलन र शिरानमा ३० घनमिटर क्षमताको पानी वितरण गर्ने टङ्की निर्माण भएको छ । मुहानको टङ्कीदेखि पानी वितरण गर्ने टङ्कीको दुरी १२० मिटर रहेको छ । २५० मिटर पाइपलाइनबाट फेदीको पानी बस्तीको टुप्पोमा लगिएको कार्यालयका सबइञ्जिनियर धनेश शाहले बताउनुभयो ।

विद्युतीय उपकरणको सहायताले पानी तान्ने व्यवस्था मिलाइएको छ । उपभोक्ताको चार लाख रूपैयाँ बराबरको श्रमदानसहित कुल ३६ लाख रूपैयाँको लागतमा योजना निर्माण भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले बताउनुभयो । “तीन वर्षअघि ८० लाख रूपैयाँ लागत अनुमान गरेर निर्माण थालिएको आयोजनाको पाइप, पानी तान्ने उपकरण र फिटिङका सामान कार्यालयले खरिद गरेर उपलब्ध गराएको हो,” उहाँले भन्नुभयो “उपभोक्ता समितिमार्फत काम गरेकाले अनुमानित भन्दा आधा कम बजेटमा योजना सम्पन्न भएको हो ।” सुरु भएको तेस्रो वर्षमा आयोजना सम्पन्न गरिएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...