जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

5

काठमाडौँ, १८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटिबी)ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्याङ्कअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो ।

यो सङ्ख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् २०१९ को जुन महिनाको ७४ हजार ८८३ आगमन भएको थियो । त्यसको आधारमा पनि यस वर्षको जुन महिनामा २२.०१ प्रतिशतले वृद्धि भएको हो ।

जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन् । जुन कुल आगमनको ५२.८ प्रतिशत हिस्सा हो । मुख्य स्रोत बजारमध्ये भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक आएका छन् । अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो । जसमा चीनबाट ८ हजार ८७५ पर्यटक आगमन भएको छ भने जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटक नेपाल आएका छन् ।

युरोपबाट १३ हजार ११९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । युरोपेली मुलुकमध्ये बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ पर्यटक आएका छन् । अमेरिकाबाट ६ हजार ९५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो । यस अवधिमा संयुक्त राज्य अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ तथा ब्राजिलबाट २१९ पर्यटक आएका छन् ।

त्यस्तै, ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ५६।३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो । यस क्षेत्रमा अष्ट्रेलियाबाट २ हजार ६९४ तथा न्युजिल्यान्डबाट ३९० पर्यटक आएका छन् । अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वबाट २९२ जना पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाका अनुसार पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको हो ।

बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...