हेटेक्स इङ्गलिस बोर्डिङ स्कुल : उद्योगसँगै हराएको एउटा शैक्षिक पहिचान

11

हेटौँडा, २४ चैत । मकवानपुरको शैक्षिक इतिहासमा एक समय उज्यालो अक्षरले लेखिएको नाम हो हेटेक्स इङ्गलिश बोर्डिङ स्कुल । हेटौँडा कपडा उद्योगको पहलमा स्थापना गरिएको यो विद्यालय केवल शिक्षण संस्था मात्र नभइ अनुशासन, गुणस्तर र आशाको प्रतीकका रूपमा चिनिन्थ्यो । तर, उद्योग बन्द भएसँगै विद्यालय पनि इतिहासमा सीमित हुन पुगेको छ ।

विसं. २०३०–२०४० को दशकतिर स्थापना भएको यस विद्यालयले उद्योगमा कार्यरत करिब एक हजारभन्दा बढी कर्मचारीका छोराछोरीलाई लक्षित गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको थियो । अङ्ग्रेजी माध्यममा सञ्चालन हुने विद्यालयमा सयौँ विद्यार्थी अध्ययनरत थिए भने कपी, किताबलगायत शैक्षिक सामग्री उद्योगकै व्यवस्थापनबाट उपलब्ध गराइन्थ्यो ।

विद्यालयका संस्थापक प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ ती दिनहरू सम्झँदै भन्नुहुन्छ, “सुरूमा पाँच जना शिक्षकले विद्यालय सुरू गरेका थियौँ । स्रोत सीमित भए पनि प्रतिबद्धता बलियो थियो, जसले विद्यालयलाई जिल्लाकै नमुना बनायो ।” उहाँका अनुसार टाढाटाढाका गाउँबाट समेत विद्यार्थीहरू यहाँ अध्ययनका लागि आउने गर्थे ।

उद्योग परिसरभित्रै सञ्चालन हुने भएकाले सुरक्षित वातावरण, दक्ष शिक्षक र व्यवस्थित पठनपाठनले विद्यालयलाई छोटो समयमै उत्कृष्ट बनाएको थियो । हेटेक्स केवल पढाइको केन्द्र नभइ अनुशासन, नैतिकता र जीवनोपयोगी शिक्षाको पाठशाला समेत थियो । तर, समयसँगै हेटौँडा कपडा उद्योग आर्थिक सङ्कट, व्यवस्थापन कमजोरी र राजनीतिक हस्तक्षेपका कारण बन्द हुँदै गयो । उद्योग बन्द भएसँगै विद्यालयको आर्थिक आधार कमजोर बन्यो । शिक्षक कर्मचारी विस्थापित भए, विद्यार्थी संख्या घट्दै गयो र पुनर्जीवनका लागि कुनै ठोस पहल नहुँदा अन्ततः विद्यालय बन्द हुन पुग्यो ।

प्रधानाध्यापक घिसिङका अनुसार, ‘उद्योग बन्द भएपछि विद्यालय पनि टिक्न सकेन । यसको असर केवल एउटा संस्थामा मात्र होइन, समग्र शिक्षामा पर्यो ।’ उहाँका अनुसार हेटेक्समा अध्ययन गरेका धेरै विद्यार्थी आज विभिन्न क्षेत्रमा सफल भए पनि उनीहरूको आधार यहीँ विद्यालय थियो ।

पूर्वविद्यार्थी विनोद ढकालले उद्योग र विद्यालय पुनः सञ्चालनमा ल्याउनुपर्ने माग गर्नुभएको छ । “उद्योग र शिक्षासँगै चले मात्रै राष्ट्रको भविष्य बलियो हुन्छ,” उहाँले भन्नुभयो । आज हेटेक्स इङ्गलिस बोर्डिङ स्कुल स्मृतिमा मात्र बाँचेको छ ।

स्थानीयवासीका अनुसार यो विद्यालय केवल संस्था होइन, एउटा आशा थियो । जुन आज हराएको छ । हेटेक्सको बन्द हुनु केवल एउटा विद्यालयको अन्त्य होइन, यो राष्ट्रको शैक्षिक सम्भावनामाथि परेको गहिरो चोटका रूपमा हेरिएको छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...