आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री डा.वाग्ले

21

काठमाडौँ, २३ चैत । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गर्नुभएको छ । एसोसिएसनका पदाधिकारीहरूसँग आज बिहान भएको भेटमा अर्थमन्त्रीले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा सुशासनका काममा केन्द्रित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ, त्यसका लागि सुशासनका काम गर्नुपर्छ । जनमत पनि यही हो, हामी यसैमा केन्द्रित छौँ ।”

अर्थमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार निजी क्षेत्रविरोधी नभएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने दिशामा काम भइरहेको बताउनुभयो ।

“आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ,” उहाँले भन्नुभयो, “नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदैछ, हल्ला र गलत अफवाहको पछि नलागौँ ।”

उहाँका अनुसार केही अनुसन्धानहरू पुरानै भए पनि अहिले अन्तिम चरणमा पुगेका छन् । उहाँले अपराध गर्नेहरूलाई उन्मुक्ति नदिने तर कसैप्रति छानीछानी प्रतिशोध पनि नलिइने स्पष्ट पार्नुभयो । साथै सरकार निजी क्षेत्रमैत्री रहेको दाबी गर्दै आफ्नो पहिलो निर्णयले नै त्यसको पुष्टि गर्ने उहाँको भनाइ थियो ।

सेयर बजारबारे पनि उहाँले सरकारको धारणा स्पष्ट पार्दै आफूहरूको पार्टी सेयर बजारप्रति उदार रहेको र घोषणापत्रमै स्पष्ट दृष्टिकोण राखिएको बताउनुभयो । पछिल्लो समय बजारमा फैलाइएका अफवाहप्रति सचेत रहन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

भेटमा एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीलगायत प्रतिनिधिहरूले हाल बजारमा गलत हल्ला फैलाइएको भन्दै गुनासो गर्नुभएको थियो । उनीहरूले सेयर बेचेर बाहिरिएका तथा पुनः बजारमा प्रवेश गर्न खोज्ने केही समूहले साना लगानीकर्तालाई त्रसित बनाउने खालका अफवाह फैलाइरहेको बताउनुभयो ।

प्रतिनिधिहरूले संस्थागत लगानीकर्ताका लागि बजारमा सहज वातावरण आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रमाथिको अनुसन्धान जायज भए पनि गोप्य रूपमा सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो । साथै पुँजीबजार सुधार कार्यदलका सुझावहरू कार्यान्वयन गर्न सरकारसँग माग पनि गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...