दोस्रो अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी

22

काठमाडौँ, २२ माघ । आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । दोस्रो अभ्यास खेलमा नेपलले क्यानडालाई ६ विकेटले पराजित गरेको हो ।

भारतको चेन्नाइमा भएको अभ्यास खेलमा क्यानडाले नेपाललाई जितका लागि एक सय ६२ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य १८औँ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि प्रारम्भिक ब्याटर आशिफ शेखले अर्धशतकीय पारी खेले । उनले २९ बलमा ६ चौका र तीन छक्काको मदतमा ५८ रनको योगदान दिए । त्यसैगरी सन्दीप जोराले ४४, गुल्शन झाले ३१, कुशल भुर्तेलले १२ तथा दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए ।

बलिङतर्फ क्यानडाका जसकरण सिंह र अजयवीर हुँडालले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि ओपनर नवनीत धलिवालले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३६ बलमा एक चौका र तीन छक्का हाने । त्यस्तै श्रेयस मोभाले १९ बलमा दुई चौका र तीन छक्कासहित ३८, कनवारपुल ताथगुरले २५ तथा जसकरण सिंहले २१ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई–दुई तथा सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए । यसअघि पहिलो अभ्यास खेलमा पनि नेपालले युएईलाई सात विकेटले पराजित गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...